ओमानलाई १५० रनमै समेट्दै नेपालको लगातार दोस्रो जित

ओमानलाई १५० रनमै समेट्दै नेपालको लगातार दोस्रो जित

मंगलवार, आश्विन २७ २०८३
मंगलवार, आश्विन २७ २०८३
  • ओमानलाई १५० रनमै समेट्दै नेपालको लगातार दोस्रो जित

    काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो ।

    नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो । ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

    ओमानको ब्याटिङ सुरुवातमै धराशायी बनेको थियो । टोलीले १२औँ ओभरसम्म ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि कप्तान विनायकले जय ओडेरासँग मिलेर ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे । ओडेरा २५ रन बनाएर आउट भए ।

    नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान ३ विकेट लिए । नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले ९ ओभरमा २८ रन दिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १–१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिए । ६७ बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे ।

    करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन बनाए । उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए । अन्तिम ओभरमा शाह फेसलको बलमा पनि छक्का प्रहार गर्दै करणले नेपालको स्कोर उकासे ।

    अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए । ओमानका शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान २ विकेट लिए भने हस्नेन शाहले १ विकेट हात पारे ।

    यस जितसँगै लिग–२ अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ । ३० खेल खेलेको ओमान ३३ अंकसहित चौथो स्थानमा छ ।

    नेपालले अब आगामी शनिबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij