एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

शुक्रवार, आश्विन ३० २०८३
शुक्रवार, आश्विन ३० २०८३
  • एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान प्रस्थान गरेका छन् । नगर प्रमुख श्रेष्ठसँगै उपप्रमुख विजयकृष्ण श्रेष्ठ र सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र भट्ट पनि जापान गएका छन् । 

    उनीहरूलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगर प्रवक्ता कृष्णहरि आचार्यलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।जापानको फुकुओका सहरमा अक्टोबर १९ देखि २१ (कात्तिक २ देखि ४) सम्म आयोजना हुने १५औँ एसिया प्यासिफिक सिटी समिटमा उनीहरू सहभागी हुनेछन् । 

    फुकुओका सहर र संयुक्त राष्ट्रसंघीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालयको आयोजनामा हुने सम्मेलनको सहआयोजक संयुक्त राष्ट्रसंघीय क्षेत्रीय विकास केन्द्र (यूएनसीआरडी) रहेको छ ।सम्मेलनमा करिब ५०० जनाको सहभागिता रहने आयोजकले जनाएको छ । 

    ‘सहकार्य र सहसिर्जनामार्फत दिगो सहर निर्माण’ मूल विषय रहेको सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न सहरका प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । सम्मेलनमा दिगो सहरी विकास, सहरी पूर्वाधार, सार्वजनिक–निजी साझेदारी, सुरक्षित तथा विपद् उत्थानशील सहर निर्माण र बदलिँदो जनसांख्यिक अवस्थाअनुकूल सहर विकासका विषयमा छलफल हुनेछ । 

    साथै, सहरहरूले सामना गरिरहेका साझा चुनौती र तिनको समाधानका उपायबारे अनुभव आदानप्रदान गरिनेछ ।
    तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित जापान, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, पाकिस्तान र फिलिपिन्सलगायत देशका सहरका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन् । 

    अन्तर्राष्ट्रिय सम्मेलनमा मध्यपुर थिमिको सहभागिताले नगरको मौलिक कला, संस्कृति, ऐतिहासिक सम्पदा तथा स्थानीय विकासका अभ्यासलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, अन्य सहरका अनुभवबाट सिक्दै नगरको दिगो विकास, सम्पदा संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना विस्तार गर्नसमेत अवसर मिल्ने विश्वास गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij