भक्तपुर । चाँगुनारायण नगरपालिका–६ स्थित युवा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन भएका छन् । संस्थाको आइतबार सम्पन्न २८ औं वार्षिक साधारणसभाले बजगाईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आश्विन गिरी, सचिवमा राम कुमार नेपाल, कोषाध्यक्षमा करुणा राउत क्षेत्री सर्वसम्मत छानिएका छन् । त्यसैगरी संचालक समिति सदस्यमा रुपा गजुरेल लामिछाने, रमेश तामाङ्ग, सुवास खत्री, दुर्गा थापा लामिछाने, दिनेश लामिछाने चुनिएको नव निर्वाचित अध्यक्ष निरञ्जन बजगाईले जानकारी दिए ।

संस्थाको लेखा सुपरिवेक्षण समिति संयोजकमा राजेश्वर लामिछाने तथा सदस्यमा प्रदिप अधिकारी र राजाराम गिरी चयन भएको बजगाईको भनाई छ । संस्थाको शेयर पूँजी गत आर्थिक वर्ष ९२ लाख ६८ हजार ४०० बढेर १० करोड ७४ लाख १७ हजार ६०० पुगेको अध्यक्ष प्रकाश बांस्तोलाले जानकारी दिए । अध्यक्ष बांस्तोलाका अनुसार गत आर्थिक वर्षमा सहकारीले व्याज कर कट्टी, घरभाडा कर, सामाजिक सुरक्षा कर, भत्त्ता तथा नाफाबापत एक करोड २१ लाख ४९ हजारबढी रकम नेपाल सरकारलाई राजश्ववापत बुझाएको छ ।

सात हजारबढी सेयर सदस्य रहेको संस्थामा गत आ.व. मा १९ करोड ४१ लाख ५७ हजार २११ रुपैया थप भई बचत रकम एक अर्व ५५ करोड ३८ लाख ७१ हजार २९३ पुगेको संस्थाका कोषाध्क्ष सुजेन्द्र मुनकर्मीले बताए । कोषाध्क्ष मुनकर्मीका अनुसार, संस्थाको ऋण लगानी अघिल्लो आर्थिक वर्ष एक अर्व ३० करोड २५ लाख ५२ हजार ३९८ रहेकोमा पछिल्लो वर्ष १३ करोड २१ लाख बढेर १ अर्व ४३ करोड ४७ लाख २३ हजार८४६ पुगेको छ । २८ वर्ष अघि स्थापना भएको यस संस्थामा हालसम्म ७ हजार ८० जना सदस्य रहेका छन् ।

साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले युवा साकोस नगरपालिकाकै उत्कृष्ठ सहकारीका रुपमा रहेको बताउँदै यस क्षेत्रमा उद्यम बढाउनेदेखि रोजगारी सृजनासम्म यस सहकारीले उल्लेख्य योगदान दिएको बताए । नगरपालिकाले पनि सहकारीसंगको समन्वयमा काम गरिरहेको नगर प्रमुख खत्रीको भनाई थियो ।
उद्घाटन कार्यक्रममा वडा नंं ५ का वडाअध्यक्ष जयन्त खड्का, ६ का वडाअध्यक्ष धनबहादुर लामा, ७ का वडाअध्यक्ष श्याम कृष्ण नायजु, ८ का वडाअध्यक्ष जनक खत्री लगायतको उपस्थिति रहेको थियो । सहकारीले साधारणसभाकै अवसरमा सदस्यलाई इन्डक्सन लगायतका सामाग्री उपहार प्रदान गरेको संस्थाका अध्यक्ष प्रकाश बाँस्तोलाले बताए ।
