काठमाडौं । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसा प्रक्रियामा थप कडाइ गरेको छ । नयाँ नियम अक्टोबर २ देखि लागू भएको हो ।
नयाँ व्यवस्थाअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको तहभन्दा माथिल्लो तहको कोर्समा अध्ययन गर्न जानेबाहेक अन्य अवस्थामा अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् ।
यसअघि भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर त्यसको निर्णय नआएसम्म अस्ट्रेलियामै बस्न सकिने अवस्थासमेत नयाँ व्यवस्थाबाट प्रभावित हुने बताइएको छ ।
त्यस्तै, हाल अध्ययन गरिरहेको कोर्स पूरा हुन १२ महिनाभन्दा बढी समय बाँकी रहेका विद्यार्थीले अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसा आवेदन दिन पाउने छैनन् । कोर्स सकिन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित सर्त पूरा गरेको अवस्थामा अस्ट्रेलियाबाटै आवेदन दिन सक्नेछन् ।
नयाँ नियमका कारण योग्य नभएका विद्यार्थीले नयाँ भिसाका लागि अस्ट्रेलिया बाहिर गएर आवेदन दिनुपर्ने हुन सक्छ । यसले अस्ट्रेलियामा अध्ययनरत तथा आगामी दिनमा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीलाई पनि असर पार्न सक्ने देखिएको छ ।
यद्यपि, सबै विद्यार्थीमा यो व्यवस्था लागू हुने छैन । विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष परिस्थितिमा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीलाई नयाँ नियमबाट छुट दिइएको बताइएको छ ।
अस्ट्रेलियाले आप्रवासनको संख्या घटाउने नीतिअन्तर्गत वार्षिक आप्रवासी संख्या करिब ३ लाखबाट घटाएर २ लाख २५ हजारमा सीमित गर्ने लक्ष्यसमेत अघि सारेको छ ।