होटललाई उद्योगसरह सुविधा दिन माग, बाग्मती प्रदेशमा पर्यटन मेला आयोजना गर्ने निर्णय

होटललाई उद्योगसरह सुविधा दिन माग, बाग्मती प्रदेशमा पर्यटन मेला आयोजना गर्ने निर्णय

बिहिवार, भाद्र ४ २०८३
बिहिवार, भाद्र ४ २०८३
  • होटललाई उद्योगसरह सुविधा दिन माग, बाग्मती प्रदेशमा पर्यटन मेला आयोजना गर्ने निर्णय

    काठमाडौं । होटल संघ बाग्मती प्रदेशको पहिलो बैठकले पर्यटन प्रवद्र्धनसँगै होटल व्यवसायका विद्यमान समस्या समाधानकालागि सरकारसँग नीतिगत पहल गर्ने निर्णय गरेको छ । संघका अध्यक्ष रामसुन्दर बकेको अध्यक्षतामा काठमाडौंको चाबहिलस्थित होटल ‘ग्रान्ड भ्यू’मा बसेको बैठकले चालु आर्थिक वर्षभित्रै होटल तथा पर्यटन मेला आयोजना गर्ने निर्णय गरेको हो ।

    मेलाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्ने संघले जनाएको छ । बैठकले २५ कोठासम्मका होटेलका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आईई) अनिवार्य नगर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ । साना तथा मध्यमस्तरका होटल व्यवसाय सञ्चालनमा वातावरणीय परीक्षणसम्बन्धी प्रावधानले थप जटिलता सिर्जना गरेको भन्दै संघले यसमा सहजीकरण गर्न माग गर्ने भएको हो ।

    त्यस्तै, होटल व्यवसायलाई उद्योगसरह मान्यता दिई उद्योगले पाउने सुविधा उपलब्ध गराउनुपर्ने मागलाई सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा अघि बढाउने निर्णय बैठकले गरेको छ । संघले पर्यटन प्रवद्र्धनका लागि प्रदेशका विभिन्न जिल्लामा ‘पर्यटन संवाद’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रममा स्थानीय सरकार, प्रदेश सरकार तथा होटेल व्यवसायीबीच प्रत्यक्ष संवाद गरी जिल्लागत पर्यटनका सम्भावना, समस्या र समाधानका विषयमा छलफल गरिने जनाइएको छ ।

    बैठकले संघको संस्थागत संरचना बलियो बनाउन विभिन्न विभाग तथा समिति गठन गरेको छ । विनोद जिरेलको संयोजनमा तीन सदस्यीय प्रचार विभाग गठन गरिएको छ । त्यस्तै, कोषाध्यक्षको संयोजनमा तीन सदस्यीय आर्थिक विभाग गठन गरिएको छ । संघको कार्यालय व्यवस्थापन तथा सञ्चालनका लागि वरिष्ठ सल्लाहकार घनश्याम श्रेष्ठको संयोजनमा तीन सदस्यीय कार्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णयसमेत भएको छ ।

    यसैगरी, बाग्मती प्रदेशका सबै १३ जिल्लामा जिल्ला संघ गठन गर्ने निर्णय बैठकले गरेको छ । संघका अनुसार आगामी भदौ महिनाभित्रै प्रदेशका सबै जिल्लामा जिल्ला संघ गठन गरी संगठनलाई जिल्लास्तरसम्म विस्तार गरिनेछ । बैठकले बाग्मती प्रदेशलाई पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिने निष्कर्ष निकालेको छ । होटेल व्यवसायका समस्या समाधानसँगै पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रदेशभर विस्तार गर्ने संघको योजना छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij