इलाम । वर्षायाम शुरु हुन लाग्दा इलाम जिल्लाको सुर्योदय नगरपालिकामा प्राथमिक उपचार, खोज तथा उद्धार सम्बन्धी तालिमको आयोजना गरिएको छ । तालिममा नगरपालिकाका विपत जोखिम भएका वडाका सदस्यहरु, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी सुर्योदय नगर उपशाखाका प्रतिनिधी र स्काउट नेपालका प्रतिनिधी गरी ४ महिलासहित २५ जनाको सहभागीता रहेको थियो ।
ग्रुप फर टेक्निकल एसिस्टेन्स ललितपुरको आयोजनामा भएको तालिममा प्राथमिक उपचार तालिममा प्रशिक्षक एवं नेपाल रेडक्रस सोसाइटी भद्रपुर नगरपालिका उपशाखाका सभापती केदार महत र इलाम जिल्ला शाखाका प्रेमराज भट्टराईले प्रशिक्षण प्रदान गरेका थिए । सुर्योदय नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष एवं नगरपालिकाका वातावरण तथा विपद समितिका सदस्य जंग बहादुर गुरुङको अध्यक्षतामा सो तालिम कार्यक्रम सम्पन्न भएको थियो ।

नगर प्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यमा सम्पन्न तालिममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विज्ञान कोइराला र विपद सम्पर्क व्यक्ति सृजन गदालको पनि उपस्थिती रहेको थियो । तालिमको उद्धेश्य र ग्रुप फर टेक्निकल एसिस्टेन्सको बारे उक्त संस्थाका सचिव भोला नाथ चौधरीले प्रकाश पारेका थिए ।
कार्यक्रममा ग्रुप फर टेक्निकल एसिस्टेन्सका कार्यक्रम निर्देशक क्षितिज कार्की र विपद कार्यक्रम विज्ञ हरी कार्कीले पनि सहजीकरण गरेका थिए । सोहि क्रममा ग्रुप फर टेक्निकल एसिस्टेन्सले स्थानीय विपद व्यवस्थापन समितिलाई विपद व्यवस्थापन सम्बन्धी १३ सेट खोज तथा उद्धार सामग्री र विपद प्रभावित परिवारका लागि आवश्यक सामग्रीसमेत हस्तरण गरिएको थियो ।

ग्रुप फर टेक्निकल एसिस्टेन्सका सचिव भोलानाथ चौधरीका अनुसार, यस किसिमको सामग्री इलामको माई जोगमाई गाउँपालिकामा पनि हस्तान्तरण गरिएको छ । त्यसैगरी छिटै विपद सम्बन्धी तालिमसमेत सञ्चालन गरिने योजना रहेको चौधरीले जानकारी दिए । नेपाल प्रकोपका दृष्टिले अत्यन्त जोखिममा रहेको देश भएको उल्लेखगर्दै सचिव चौधरीले हरेक बर्ष सयौ विपदका घटनाबाट हजारौ व्यक्ति प्रभावित हुदै आएको बताए ।
विपदकै कारण मुलुकले वर्षेनी अर्वौको क्षति व्यहोर्दै आएको बताउँदै त्यसलाई न्युनिकरण गर्न संस्थाले तालिम सञ्चालन र विपद सामाग्री बितरण गर्दै आएको बताए । त्यसैक्रममा महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक कार्यकर्ताहरु र महिला जनप्रतिनिधीका लागि ङ्गिक समानता, अपाङ्ग र सामाजिक समावेशीकरण उत्तरदायी विपद् पूर्व तयारी सम्बन्धि एक दिने कार्यशालासमेत संचालन गरेको छ । सुर्योदय नगरपालिकाको आयोजना तथा ग्रुप फर टेक्निकल एसिस्टेन्सको समन्वय तथा प्रविधिक सहयोगमा सञ्चालित तालिममा बिज्ञ दुर्गा प्रसाद दाहालले सहजिकरण गरेका थिए ।