काठमाडाैं ।
“कता गयौ तिमी कहाँ छौ,
जहाँ छौ तिमी सधैं खुसी हौ...”
यी प्रेमिल हरफका स्रष्टा हुन् - केशव गौतम । पेशाले सरकारी वकिल कार्यालय, सुनसरीका प्रमुख रहे पनि साहित्य र संगीतमा उनी ‘के.पी. सागर’ नामले परिचित छन् । तर आफ्नो नयाँ गीत ‘प्रेमकथा’ मा भने उनी आफ्नै वास्तविक नाम - केशव गौतमकै रूपमा प्रस्तुत भएका छन् ।
युवायुवतीबीचको प्रेम, त्यसको स्थायित्व, सम्झना र विछोडको पीडा समेटिएको ‘प्रेमकथा’ आधुनिक शैलीमा तयार गरिएको गीत हो । युवा अवस्थाको प्रेमिल क्षणलाई शब्दमा उतार्दै गौतमले मनका गहिरा भावहरूलाई संगीतमा बाँधेका छन् । सम्बन्धमा आउने उतारचढाव, खटपट र अन्ततः विछोडको अवस्था, यी सबै अनुभूति गीतमा सहज ढंगले अभिव्यक्त छन् । प्रेम एकदिन ‘एकादेशको कथा’ बन्ने यथार्थलाई पनि गीतले संवेदनशील रूपमा चित्रण गर्छ ।
गीतमा सिडी विजय अधिकारीले स्वर दिएका छन् । उनको सुमधुर आवाजमा संगीतकार राजकुमार बगरको संगीतले गीतलाई थप जीवन्त बनाएको छ । शब्द, स्वर र संगीतको सशक्त संयोजनले युवा उमेरका प्रेमिल दिनहरूलाई पुनः स्मरण गराउने शक्ति दिएको आम प्रतिक्रिया छ ।
गीत गायक अधिकारीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोमा अधिकारीसँगै सृष्टि श्रेष्ठको अभिनयले गीतका शब्दलाई प्रेमको लयमा अघि बढाएको छ । मनमोहक दृश्य संयोजन र सौन्दर्यपूर्ण लोकेशनले प्रेमिल वातावरणको अनुभूति गराउँदै गीतलाई दृश्यात्मक रूपमा पनि आकर्षक बनाएको छ ।
सार्वजनिक भएपछि ‘प्रेमकथा’ टिकटकमा समेत निकै रुचाइएको छ । धेरै प्रयोगकर्ताले आफ्नै शैलीमा अभिनय गर्दै गीतलाई सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । टिकटक प्रयोगकर्ताबाट प्राप्त मायाले आफूलाई थप सृजनात्मक ऊर्जा दिएको रचनाकार गौतम बताउँछन् ।
सरकारी जिम्मेवारीसँगै सिर्जनशील मन बोकेका गौतमको ‘प्रेमकथा’ले यतिबेला सामाजिक सञ्जाल र युट्युबमा प्रेमपूर्ण भावनाको नयाँ लहर सिर्जना गरेको छ ।
गौतमका थुप्रै गीत र कविताहरू अझै डायरीमै सीमित छन् । यद्यपि सार्वजनिक भएका सिर्जनाहरूले उनलाई सर्जकका रूपमा चिनाउन पर्याप्त आधार निर्माण गरेका छन् । समाजमा भोगिएका कथा, चलचित्र र उपन्यासबाट अनुभूत भावनालाई शब्दमा ढालेर ‘प्रेमकथा’ जन्मिएको उनी बताउँछन् ।