रास्वपाकी मधेसकी संस्थापक सभापति ममता शर्माको राजीनामा, कांग्रेस प्रवेश गर्ने घोषणा

रास्वपाकी मधेसकी संस्थापक सभापति ममता शर्माको राजीनामा, कांग्रेस प्रवेश गर्ने घोषणा

बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • रास्वपाकी मधेसकी संस्थापक सभापति ममता शर्माको राजीनामा, कांग्रेस प्रवेश गर्ने घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की मधेस प्रदेशकी संस्थापक सभापति तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभाग सदस्य ममता शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन् ।

    शर्माले विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय प्रक्रिया, कार्यशैली र आसन्न फागुन २१ गतेको निर्वाचनका लागि अपनाइएको पद्धति स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको भन्दै पार्टी परित्याग गरेको बताएकी हुन् ।

    उनले “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने नाराबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख गर्दै पछिल्लो समय पार्टीभित्र विधि र विधान विपरीत गतिविधि बढेको आरोप लगाएकी छन् । संगठनमा दिनरात खटिएका कार्यकर्ताको योगदानको उचित मूल्यांकन नभएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको तथा निर्णय प्रक्रियामा पारदर्शिता नरहेको उनको भनाइ छ ।

    शर्माले मुख्य रूपमा आर्थिक अनियमितताले पार्टीका निर्णयहरू प्रभावित भएको आरोप लगाउँदै त्यसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आघात पुगेको उल्लेख गरेकी छन् । “यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,” उनले विज्ञप्तिमा भनेकी छन् ।

    बाराकी शर्माले मधेसका आठ जिल्लामा संगठन विस्तार गर्दै पार्टीलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । तर निर्वाचन टिकट वितरणको विषयमा असन्तुष्टि बढ्दै गएपछि पार्टीभित्रको विवाद सार्वजनिक भएको थियो । उनले टिकट वितरणमा नातावाद, कृपावाद र अवसरवाद हावी भएको आरोपसमेत लगाएकी छन् ।

    शर्माले पार्टी सभापति तथा शीर्ष नेतृत्वसँग पटक–पटक गुनासो राख्दा पनि आफ्नो प्रश्नको बेवास्ता गरिएको बताएकी छन् ।

    यसैबीच, शर्माले अब नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी रहेको जानकारी दिएकी छन् । “अब सप्रिएको कांग्रेसमा प्रवेश गर्न लागेकी छु,” उनले बताएकी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij