काठमाडौं । ओमानलाई १० रनले पराजित गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अंकतालिकामा छैटौं स्थान पक्का गरेको छ ।
सोमबार अल अमेरतमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो ।
ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि जित दिलाउन सकेनन् । अन्तिम ओभरमा २३ रन आवश्यक हुँदा दीपेन्द्रसिंह ऐरीले कसिलो बलिङ गर्दै नेपालको जित सुनिश्चित गरे ।
त्यसअघि नेपालले देव खनाल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा २८० रन बनाएको थियो । देवले ५७, रोहितले ८० र दीपेन्द्रले ६९ रन जोडे ।
यो जितसँगै नेपालले ३६ खेलमा ३० अंक जोडेको छ । यसअघि क्यानडासँग पराजित भएपछि सातौं स्थानमा झरेको नेपाल ओमानलाई हराउँदै छैटौं स्थानमा उक्लिएको हो ।