काठमाडौं । विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै पहिरो र बाढीका कारण केही सडक अवरुद्ध रहेको जनाएको छ ।
प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान गएको पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक हाल एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नं. ९ को नयाँपुल क्षेत्रमा बाढीले क्षति पुर्याउँदा सडक अवरुद्ध भएको छ । असोज २५ गते बिहान आएको बाढीले सोतीस्थित फलामे पुल तथा गोरखाको आरुघाटबाट धादिङ जोड्ने बाटोमा क्षति पुर्याएको थियो । उक्त सडक खण्ड अझै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका–७ औलिसेमा कात्तिक १ गते बिहान गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पनि हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार दुई सडक खण्डमा एकतर्फी यातायात सञ्चालनमा आए पनि गोरखाको आरुघाट क्षेत्रको सडक भने पूर्ण रूपमा अवरुद्ध रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउनुपर्ने अवस्था छ ।
