भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले चोरी र लुटपाटमा संलग्न रहेका व्यक्तिहरूसहित फरार कैदी बन्दीहरूलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार मध्यपुरथिमी नगरपालिका–९ निकोसेरा ढुङ्गेधारामा कृष्ण भक्त काशुलाको घरमा भएको लुटपाट घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार दुई जना अपरिचित व्यक्तिहरू घरको झ्यालबाट प्रवेश गरी घरधनी काशुलामाथि दाउराको चिरपटले प्रहार गर्दा उनी घाइते भएका छन् । हाल उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीय बिक्रम थापा, रोशी गाउँपालिका–१ का ३० वर्षीय रामबहादुर तामाङ, रोल्पा परिवर्तन गाउँपालिका–४ का ४३ वर्षीय लोकेन्द्र पुन, र उदयपुर बेलटारका ४० वर्षीय राजु राईलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।
अनुसन्धानका क्रममा थापा र तामाङ विगतमा पनि चोरी, लुटपाट र लागू औषध सम्बन्धी अपराधमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
rत्यस्तै, जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त थिमिको हिरासतबाट फरार भएका विद्युतीय कारोबार ऐन अन्तर्गतका अभियुक्त, सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्छेका ३० वर्षीय निकेश राउतलाई समेत प्रहरीले पक्राउ गरेको छ । साथै, सोही आन्दोलनका क्रममा फरार भएका थप एक जना कैदीलाई पनि पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।