भक्तपुर । नेवारी समुदायको बाहुल्यता भएको चाँगुनारायण नगरपालिकाले नेपाल सम्बत ११४६ लाई स्वागत गर्दै समावेशी शुभकामना र्याली आयोजना गरेको छ । नेवारी मौलिक संस्कृति जगेर्ना गर्ने र सबै समुदायमा आफ्नो संस्कृतिबारे जानकारी गराउन नगरकोट भ्रमण वर्ष–२०८२ लाई समेत टेवा पुग्ने गरी चाँगुनारायण नगरपालिका–२ ले र्याली आयोजना गरेको हो ।

परम्परागत रूपमा नेवार समुदायले मनाउँदै आएको नेपाल सम्बत यस वर्ष भक्तपुरको दुवाकोटमा सबै जातजातिको सहभागितासहित मनाएका छन् । समावेशी शुभकामना र्यालीमा नेवार समूदायको धिमे बाजा, बाँसुरी लगायत साँस्कृतिक झाँकी प्रस्तुत गरे ।

र्यालीमा तामाङ्ग समुदायको सांस्कृतिक झाँकी, भेषभूषा र डम्फूबाजा र नृत्य समाबेस रहेकाे चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताए । त्यस्तै, क्षेत्री बाहुनहरू नेपाली पोशाक र खैजडी भजनसहित र्यालीमा सहभागी भएका छन् । साथै, राईलिम्बू, मगरलगायत जनजातीका भेषभूषा र झाँकी पनि समाबेश भएको चाँगुनारायण–२ का वडाध्यक्ष सोम प्रधानले जानकारी दिए ।

नेपाल सम्बत नेवार समुदायको मात्र नभएर राष्ट्रिय सम्बत भएका कारण सबै समुदाय मिलेर मनाइएको वडाध्यक्ष प्रधानकाे भनाई थियाे ।
सोही क्षेत्रमा नयाँ बर्षका अवसरमा मनाइने बिस्केट जात्रा पनि सम्पूर्ण समुदायले मिलेर भव्य रूपमा मनाइएको थियो ।


