काठमाडौं । आजबाट भुक्तपुरको जगातीबाट सार्वजनिक यातायातमा ‘संगीतको लाइसेन्स’ चेकजाँच सुरु भएको छ । संगीत रोयल्टी संकलन समाजले आजबाट काठमाडौंबाट बाहिरिने नाकामा गाडीको चेक जाँच सुरु गरेको हो ।
भक्तपुरको जगाती नाकाबाट चेकजाँच सुरु भएको छ । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय भक्तपुर र ट्राफिक प्रहरीको समन्वयमा चेकजाँच सुरु गरिएको जनाइएको छ । समाजका प्रतिनिधिहरु बिहानैदेखि संगीत लाइसेन्सको चेकजाँचमा खटिएका छन् । ट्राफिक प्रहरीले पनि यसमा सघाइरहेको छन् ।
उनीहरुले लाइसेन्स लिएका गाडीमा हरियो स्टिकर टाँसेका छन् भने लाइसेन्स नलिएका गाडीहरुलाई केही दिनभित्रै लाइसेन्स लिन रसिद थमाएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरको समन्वयमा उपत्यकाबाट बाहिरिने सबै नाकामा संगीतको लाइसेन्स चेकजाँच हुने समाजले जनाएको छ । केही दिनमा थानकोट लगायतका नाकामा समेत चेकजाँच गर्ने तयारी गरेको छ ।
रोयल्टी नतिरी सार्वजनिक प्रयोग गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले तोकेको कसुरको मात्राअनुसार १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।