भक्तपुर । देशभर डेंगुको संक्रमण फैलिने क्रममा छ । मनसुन सकिएर तापक्रम घटिरहेको समयमा पनि घट्नुको सट्टा डेंगुको संक्रमण झनै बढिहरेको देखिएको हो ।
हाल देशभर १९ हजार पाँच ९९ जना डेंगु संक्रमित रहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । भक्तपुरमा मात्रै हाल ३ सय ५५ जना संक्रमित रहेका छन् ।
डेंगुको संक्रमणबाट देशभर १० जनाको मृत्यु भएको छ । त्यसमा भक्तपुर जिल्लाका पनि एक जना रहेका छन् । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका–४ दधिकोटका एक पुरुष रहेका छन् ।
उपत्यकाको तीनै जिल्ला संक्रमणको 'हब' बनिरहेको समयमा भक्तपुरको लोकन्थली देखि ठिमी भने उच्च जोखिममा रहेको नागरिक अस्पतालका चिकित्सक डा. कुन्दन सिंह कार्कीले जानकारी दिए । 'लोकन्थलीदेखि ठिमीसम्म डेंगु भाइरल जस्तै फिँजिइरहेको छ ।', उनले भने ।
डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ । काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म ३ हजार १०३ जना प्रभावित भएका छन् । यस्तै कास्कीमा २ हजार आठ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ । तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।