भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित शुभकामना वचत तथा ऋण सहकारी संस्थामा नयाँ सञ्चालक समिति चयन भएको छ । सहकारीको शनिबार सम्पन्न २४ औं वार्षिक साधारणसभाले रामप्रसाद कासुलालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा धर्मदिप बज्राचार्य सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै, सञ्चालक समिति सदस्यहरुमा सिर्जना कोजु सुवाल, पुण्यश्वरी सुवाल, शिवलक्ष्मी बासुकला, नुतनदेवी श्रेष्ठ, रामबहादुर कासुला, गणेशराम कोजु, गणेश प्रधान, नरेश बासुकला र नारायण बहादुर बासुकला चयन भएका छन् ।
साथै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद नापित, सदस्यहरुमा विष्णुभक्त कवाँ र गायत्री मैयाँ कोजु सर्वसम्मत चयन भएका छन् ।
साधारणसभाको उद्घाटन नेप्सकुनका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले गरेका थिए ।

सभामा सहकारीका कोषध्यक्ष नारायण बहादुर बासुकलाले आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्ममा सहकारीको कुल दायित्व १ अर्ब ५४ करोड रुपैयाँ पुगेको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा उक्त दायित्व १ अर्ब २७ करोड रुपैयाँ थियो । दायित्व बढ्दा सहकारीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५६.४७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा सहकारीले २ करोड ७४ लाख रुपैयाँ नाफा गरेको थियो । जुन गत आर्थिक वर्षमा बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको बासुकलाले बताए ।
गत आर्थिक वर्षमा सहकारीले कर्मचारीलाई तलब, व्याज खर्च, कार्यालय सञ्चालन खर्च लगायतका शिर्षकमा १२ करोड १९ लाख रुपैयाँ खर्च गरेको उनले जानकारी दिए ।
यही रफ्तारले प्रगति गर्दै जाँदा चालू आर्थिक वर्षमा सहकारीको नाफा २० प्रतिशतले बढेर ५ करोड १६ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको कोषध्यक्ष बासुकलाले बताए ।

कार्यक्रममा प्रमुख अतिथि ढकालले ज्येष्ठ नागरिकहरुलाई पौष्टिक आहारसहित दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।