भक्तपुर । नेपालीको सबैभन्दा ठुलाे पर्व दशैंको अवसर पारेर भक्तपुरमा ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१’ आयोजना हुने भएको छ । भक्तपुर चेम्बर अफ कमर्सको आयोजना र सगुन इभेन्ट मेनेजमेण्ट प्रा.लि.को व्यवस्थापनमा महोत्सव हुन लागेको हो ।
महोत्सव आश्विन ९ गतेदेखि १९ गतेसम्म गरी ११ दिन चल्ने भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष कविदास श्रेष्ठले बताए । भक्तपुर नपा १ सल्लाघारी स्थित खुल्ला मैदानमा महोत्सव हुने जनाइएको छ ।

महोत्सवमा मौलिक उत्पादन तथा हस्तकला, कृषि उत्पादनहरु, बिउबिजन तथा मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडिबुटी तथा औषधी, छालाका सामानहरु, गारमेन्ट तथा जुत्ताचप्पल, गलैचा तथा पश्मिना, सूचना प्रविधि, इलेक्ट्रिकल्स् तथा इलेक्ट्रोनिक्स्, फर्निचर तथा फर्निसिंग, पर्यटन तथा शैक्षिक संस्था, घरजग्गा तथा निर्माण सामाग्री, बैंक तथा वित्तिय संंस्था, अटोमोवाइल्स् लगायत रोजगार दाता निकाय गरी १५० भन्दा बढी स्टल रहने अध्यक्ष श्रेष्ठले बताए । साथै, राष्ट्रिय आविष्कार केन्द्रबाट आविष्कार भएका सामगी्रहरुको स्टल समेत महोत्सवमा राखिने आयोजकले जनाएको छ ।
महोत्सवमा राखिने वस्तुहरुको प्रकृतिका आधारमा स्टलको साइज र शुल्क भने फरक हुने जनाइएको छ । स्थानीय उत्पादनहरुका लागि न्यून स्टलभाडा रहने र आयातित वस्तुहरुको स्टलका लागि फरक शुल्क हुने श्रेष्ठले जानकारी दिए । ११ दिनको उक्त महोत्सवमा एकलाख रुपैयाँदेखि १८,५०० रूपैयाँसम्म स्टल भाडा हुने उनले बताए ।

महोत्सवमा बालबालिकाहरुका लागि बाल उद्यान लगायत विविध मनोरञ्जनात्मक खेलकूद गतिविधि रोटीपिंग, ड्रागन रेल, नाउ, बोटिङ, वाटर वल्व, मिकि माउस, ट्रेम्पोलिंग, स्कोरपियो आदिका साथमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेशका लागि सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँको टिकट लाग्ने आयोजकले जनाएको छ । वृद्धवृद्धा तथा शारिरीक असक्षम व्यक्तिहरुलाई प्रवेश निःशुल्क गरिने छ । महोत्सवबाट राजधानी उपत्यकाका साथसाथै काभ्रे, धुलिखेल, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा आदि जिल्लाका बासिन्दाहरुले समेत लाभ लिन सक्ने आयोजकले जनाएका छन् ।
महोत्सव अवधिभर करिब दुईलाख पचास हजार दर्शकहरुले अवलोकन गर्ने र उक्त अवधिमा करिब १० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान आयोजकको रहेको छ ।

महोत्सवकै अवसरमा जिल्लाको व्यवसायिक प्रवद्र्धनका लागि भक्तपुर चेम्बर अफ कमर्सले निर्माण गरेको वेभ पोर्टलको उद्घाटन गर्ने योजना पनि रहेको अध्यक्ष श्रेष्ठले बताए ।