भक्तपुर गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

भक्तपुर गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • भक्तपुर गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघरमा ३१ साउनमा भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका ५ घर भएका ३१ वर्षीय सुवास बस्नेत, कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डी गढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर छन् ।

    उनीहरुलाई ११ भदौमा भक्तपुरका विभिन्न ठाउँहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे छ । पक्राउ परेकाहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । 

    ३१ साउनमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८०४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका स्कुटर चालक ६५ वर्षका उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

    ट्राफिक प्रहरीले जाँच गर्न स्कुटर रोक्दा दुर्घटना भएको भन्दै प्रदर्शनमा उत्रिएकाहरु व्यक्तिहरुले ट्राफिक प्रहरीमाथि समेत आक्रमण गरेका थिए । प्रहरीले जथाभावी चेकजाँच गर्दा दुर्घटना भएको भन्दै दुर्घटनापछि गठ्ठाघर चोकमा प्रदर्शन भएपछि स्थिति तनावग्रस्त बनेको थियो ।प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी वेद विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो ।

    प्रदर्शनकारीले ट्राफिक आइल्याण्ड, प्रहरी बिट, बिटमा रहेको टेबल र ह्याण्ड सेटमा समेत क्षति पुर्‍याएका थिए । आक्रमणमा उत्रिएकाहरु मध्ये प्रहरीमाथि हातपात गर्नेहरुलाई पहिचान गरेर अहिले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी यसअघि मृतक स्कुटर चालक आफ्नी बहिनी भएको बताउँदै प्रहरीको सम्पर्कमा पुगेका शम्भु नेपालीलाई हिरासतमा लिएर प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाएको थियो । उनी भने रिहा भइसकेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij