शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा १३ सय जनामा मिर्गौला र २८ जनामा कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा १३ सय जनामा मिर्गौला र २८ जनामा कलेजो प्रत्यारोपण

बिहिवार, भाद्र १३ २०८१
बिहिवार, भाद्र १३ २०८१
  • शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा १३ सय जनामा मिर्गौला र २८ जनामा कलेजो प्रत्यारोपण

    भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको छोटो अवधिमै १३०० जनामा मिर्गौला र २८ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा  मात्रै १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । सबै प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको पनि केन्द्रले जनाएको छ । 

    १३०० जनामा मिर्गौला र २८ जनामा कलेजो प्रत्यारोपण भएको अवसरमा आयोजित कार्यक्रममा मुख्य सचिव लीला देवी गडतौलाले केन्द्रले प्रत्यारोपण क्षेत्रमा उपलब्ध गराइरहेको सेवाप्रति नेपाल सरकार खुसी रहेको बताइन् ।  यसबाट देशभरका अङ्ग फेल भएका बिरामीहरू लाभान्वित हुँदै गएकोमा केन्द्रका परिवारलाई उनले धन्यवाद दिइन् ।  सीमित भौतिक पूर्वाधार बिच केन्द्रले विश्वस्तरीय सेवा उपलब्ध गराउनु देशकै गौरवको विषय भएको उनको भनाइ थियो । 

    उक्त अवसरमा केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विज्ञ डा. पुकार चन्द्र श्रेष्ठले स्थापनाको १२ वर्षमा संसारको उत्कृष्ट अस्पतालहरूको जस्तै नतिजा दिन सक्नुमा केन्द्रमा अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरूको ठुलो योगदान रहेको बताए । आफ्नो भवन र उपयुक्त जग्गा जमिन नभएको वर्तमान अवस्थामा पनि केन्द्रले देशकै सबैभन्दा बढी सफलता पूर्वक प्रत्यारोपण गरिसकेको जानकारी दिए ।   

    उपयुक्त जमिन उपलब्ध हुनासाथ केन्द्रको क्षमता विस्तार गरी तत्काल ३०० बेडको प्रिफ्याब भवन ६ महिना भित्र निर्माण गरी सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए । 

    उनले भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित उद्योग मन्त्रालयको स्वामित्वमा रहको २५८ रोपनी जग्गामध्ये १०० रोपनी जग्गा केन्द्रलाई उपलब्ध गराउन माग गरे ।  

    कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा हुनु गर्वको कुरा भएको बताउँदै यस केन्द्रलाई जमिन उपलब्ध गराउन सक्दो सहयोग गर्ने बताइन् । 

    यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका नर्सिङ निर्देशक संगीता श्रेष्ठले केन्द्रका गतिविधिलाई नजिकबाट नियालिरहेको र केन्द्रबाट भएको सेवा विश्वस्तरीय रहेको बताउँदै केन्द्रबाट उपलब्ध हुने सेवा समस्त स्वास्थ्य क्षेत्रको लागि उदाहरणीय भएको उल्लेख गरिन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij