भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा रहेको केदारनाथको शिर डोलेश्वरको ३८ दिने श्रावणी मेला सकिएको छ । श्रावण १ गते देखि सुरु भएको मेला आज सम्पन्न भएको हो ।
भाद्र ६ अर्थात् मन्दिरलाई केदारनाथको शिर घाेषणा गरेको अवसरमा आज मेलाको समापन गरिएको छ । मेलामा नेपाल, भारत लगायतका देशका भक्तजनहरुको उपस्थिती रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।
मेला अवधिभर मन्दिर आउने भक्तजनले दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ संकलन भएको समितिका समितिका सचिव कविराम थापाले बताए । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरुले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट संकलन भएको उनले जानकारी दिए । सो अवधिमा पण्डाल निर्माण, खाना आदिमा १२ लाख ३६ हजार रुपैयाँ खर्च भएको उनले बताए ।

३८ दिन सम्म चलेको मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् । मेला बिना कुनै झगडा र विवादको नै सम्पन्न भएको उनले बताइन् ।
सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले सूर्यविनायक मन्दिर नगरपालिका मात्रै नभएर देश तथा विदेशका पनि हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र रहेको बताए । धार्मिक तथा पर्यटकीय रुपमा पनि महत्व बोकेको मन्दिरको स्थापना दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा समेत दिने गरेको नगर प्रमुख थापाले बताए ।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरीता तिमसिना भट्टराईले मेलाले मन्दिर नजिक बस्ने नगरबासीहरुको स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गरि आर्थिक विकासमा मद्दत पुर्याएको बताइन् ।

वडाध्यक्ष पुष्पराज बस्नेतले स्वयंसेवक, स्वास्थ्यकर्मी साथै सबैको सहयोगले नै मेला भव्य रुपमा सम्पन्न भएको बताए । मेलाकै अवसरमा आयोजित रक्तदान शिविरमा ५०० जना भन्दा धेरैले रक्तदान गरेको समेत बस्नेतले जानकारी दिए । यस अघिको मेलामा घोषणा गरिएअनुसार मन्दिरमा ढुङ्गा छाप्ने कामसमेत सकिएको उनले जानकारी गराए ।