भक्तपुर । भक्तपुरको बालबालिका साक्षरता दर ७७ जिल्लामै उच्च रहेको तथ्यांक सर्वजनिक भएको छ । भक्तपुर जिल्लामा बालबालिका साक्षरता दर करिब ९९ प्रतिशत रहेको सो तथ्यांकमा उल्लेख छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भक्तपुर जिल्लामा ५ वर्ष भन्दा माथिका ९८.९ प्रतिशत बालबालिका साक्षर रहेको देखिएको हो ।
यसअघिनै पूर्णरुपमा साक्षर भएको घोषणा गरिएको भक्तपुर जिल्लामा विसं २०७८ को जनगणना अनुसार ८२ हजार २ सय १२ जना ५ वर्षमाथिका बालबालिका छन् । ती मध्ये ९८.९ प्रतिशत अर्थात् ८१ हजार ३ सय ६ बालबालिका साक्षर रहेको जनाइएको छ ।
तथ्यांक अनुसार बालक र बालिकाको शिक्षामा समान पहुँच देखिएको छ । जिल्लामा रहेका ४४ हजार ४ सय २७ बालकमध्ये ९८.९ प्रतिशत अर्थात् ४३ हजार ९२१ साक्षर रहेको देखिएको छ । त्यस्तै, ३७ हजार ७ सय ८५ बालिकामध्ये ९८.९ प्रतिशत नै साक्षर रहेको पाइएको छ । तथ्यांक अनुसार ३७ हजार ३८५ बालबालिका साक्षर छन् । विसं २०७२ सालमा नै भक्तपुर जिल्ला पूर्णरुपमा साक्षर रहेको घोषणा गरिएको थियो ।