काठमाडौं । चालू आर्थिक वर्षको पहिलो १० महिनामा १५ लाख २८ भन्दा धेरै थान मोबाइल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को साउन देखि वैशाख महिनासम्ममा १५ लाख २८ हजार ६ सय ४४ थान मोबाइल भित्र्याइएको हो ।
भन्सार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म २४ अर्ब रुपैयाँ बराबरका १५ लाख २८ हजार थान मोबाइल फोनको आयात भएका छन् । माेबाइल आयातबापत साे अवधिमा सरकारले चार अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ । यो पोहोरको १० महिनाको तुलनामा चार अर्ब रुपैयाँभन्दा धेरै हो । गएको वर्षको साउनदेखि वैशाखसम्म २० अर्ब ४१ करोड रुपैयाँ मूल्यका १३ लाख थान मोबाइल आयात भएका थिए ।
भन्सार विभागको तथ्यांक अनुसार बैशाखमा मात्रै १ लाख ३६ हजार ७ सय ९९ थान मोबाइल नेपाल आयात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा चीन र भारतसहित विभिन्न ६१ मुलुकबाट मोबाइल आयात भएको देखिएको छ । सबैभन्दा धेरै चीनबाट १५ अर्ब ८० करोड रुपैयाँ मूल्यका १० लाख ९५ हजार थान मोबाइल आयात भएका छन् । यस्तै भारतबाट १० महिनामा सात अर्ब ८१ करोड रुपैयाँका मोबाइल फोन आयात भएका भन्सार विभागले जनाएको छ ।