बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १ अर्ब ६१ करोड दिने

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १ अर्ब ६१ करोड दिने

शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १ अर्ब ६१ करोड दिने

    काठमाडौं । अस्ट्रेलिया सरकारले नेपालको बाढीपछिको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप १ अर्ब ६१ करोड ७५ लाख रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ ।

    अस्ट्रेलियाले थप १ करोड ५० लाख अस्ट्रेलियन डलर सहायता उपलब्ध गराउन लागेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका हुन् । अस्ट्रेलियाको औपचारिक भ्रमण तथा जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप’ बैठकमा सहभागी भएर स्वदेश फर्किएका मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

    यसअघि अस्ट्रेलियाले घोषणा गरेको १ करोड १० लाख अस्ट्रेलियन डलरसहित नेपालका लागि कुल सहायता रकम २ करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको छ । यो रकम नेपाली रुपैयाँमा करिब २ अर्ब ८० करोड ३६ लाख बराबर हुन्छ ।

    अस्ट्रेलिया भ्रमणका क्रममा मन्त्री खनालले अस्ट्रेलियाकी विदेशमन्त्री पेन्नी वोङसँग द्विपक्षीय वार्ता गरेका थिए । वार्तामा नेपालको बाढीपछिको पुनर्निर्माण, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

    भेटका क्रममा मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको भिसा प्रक्रिया सहज बनाउन र छात्रवृत्तिको कोटा बढाउनसमेत आग्रह गरेका थिए ।

    यसैगरी, फिजी र टुभालुमा आयोजित बैठकमा सहभागी मन्त्री खनालले आगामी कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गरेका थिए । उनले जलवायु परिवर्तनबाट प्रभावित राष्ट्रका लागि अनुदानमा आधारित जलवित्तको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij