गलौंदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन ब्याक कटिङ, यातायात सञ्चालनको तयारी

गलौंदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन ब्याक कटिङ, यातायात सञ्चालनको तयारी

शनिवार, आश्विन २४ २०८३
शनिवार, आश्विन २४ २०८३
  • गलौंदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन ब्याक कटिङ, यातायात सञ्चालनको तयारी

    काठमाडौं । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग खुलाउन धादिङको गलौंदीमा भित्तातर्फको भाग काट्ने काम भइरहेको छ । सडक विभागका अनुसार अवस्था सामान्य रहे शनिबार बेलुकासम्म राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

    धादिङको गजुरी गाउँपालिका–५, गलौंदीमा नदीतर्फबाट त्रिशूलीले कटान गर्दा सडक भासिएको हो । शुक्रबार बेलुकादेखि अवरुद्ध सडक खुलाउन शनिबार बिहानैदेखि ब्याक कटिङ अर्थात् भित्तातर्फको भाग काट्ने काम भइरहेको सडक विभागले जनाएको छ ।

    विभागले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै स्थानीय तहसँग छलफलपछि ब्याक कटिङको काम सुरु गरिएको जनाएको छ । काममा कुनै अवरोध नआए करिब आठ घण्टाभित्र, अर्थात् अपराह्न ४ बजेसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको विभागको भनाइ छ ।

    सडक अवरुद्ध भएपछि दसैँ मनाउन घरतर्फ हिँडेका यात्रुहरू अलपत्र परेका छन् । पृथ्वी राजमार्ग हुँदै दैनिक १५ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । दसैँका बेला भने सामान्य अवस्थाभन्दा तीन गुणासम्म बढी सवारीसाधन चल्ने गरेको प्रहरीको भनाइ छ ।

    यसअघि भदौ १४ गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णभीर खण्ड भासिएको थियो । उक्त सडकखण्ड १८ दिनपछि सञ्चालनमा आएको थियो । त्यसैगरी, असोजको पहिलो साताको बाढीपहिरोका कारण पनि पृथ्वी राजमार्ग झन्डै पाँच दिन अवरुद्ध भएको थियो ।

    लगातारको बाढी तथा नदी कटानले राजमार्गका विभिन्न खण्ड प्रभावित हुँदा चाडपर्वका बेला यात्रु तथा सवारीसाधनको आवागमनमा समस्या हुँदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij