चितवन । अण्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी आएसँगै अण्डाको लागत बढेको छ ।
नेपाल भेटेनरी एसोसिएसन वागमती प्रदेशका अध्यक्ष डा दीपक तिवारी यो समयमा कुखुराले दानापानी कम खाने र कमजोर हुने हुँदा रोगको जोखिम हुने बताउछन् । गर्मीमा २० देखि २५ प्रतिशत उत्पादनमा ह्रास आउने गर्दछ । गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा गिरावट आएको छ । दिउँसो कुखुरालाई दाना नखुवाउन सुझाव दिँदै उनले उत्पादन घटेकाले किसानको लागत मूल्य बढेको जानकारी दिए ।
पोल्ट्री क्षेत्रमा लामो अनुभव सँगाल्नुभएका विज्ञ डा तिलचन्द्र भट्टराई उत्पादन घटेसँगै लागत मूल्य बढ्दा किसान र व्यवसायी प्रभावित भएको बताए । हाल एउटा अण्डा तयार गर्न १६ रुपैयाँ हाराहारी खर्च हुने गरेको छ । यसअघि अण्डाको लागत मूल्य १४.५ रुपैयाँ थियो ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेल चर्को गर्मी र रोगका कारण अण्डा उत्पादनमा कमी आएको बताए । दैनिक ५० देखि ६० लाख अण्डा उत्पादन हुँदै आएकोमा आधा घटेको उनले बताए।
पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष रघुनाथ भट्ट किसानले लागत मूल्य पाउन नसकेका भन्दै अन्य वस्तुको तुलनामा अण्डाको मूल्य कम रहेको बताए । उनले भने, “धेरै किसान विस्थापित भए, अब पनि लागत मूल्य नपाए व्यवसाय ध्वस्त हुन्छ ।”
मञ्चका पूर्वअध्यक्ष राजेन्द्र लामिछाने पोल्ट्री व्यवसाय संवेदनशील भएकाले राज्यले यसलाई विशेष ध्यान दिनुपर्ने बताए ।