केदारनाथको शिर डोलेश्वरमा अक्षय तृतीयाका दिन चारै ढोका खुला, कुन कुन दिन भित्रै गएर पुजा गर्न पाइन्छ ?

केदारनाथको शिर डोलेश्वरमा अक्षय तृतीयाका दिन चारै ढोका खुला, कुन कुन दिन भित्रै गएर पुजा गर्न पाइन्छ ?

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • केदारनाथको शिर डोलेश्वरमा अक्षय तृतीयाका दिन चारै ढोका खुला, कुन कुन दिन भित्रै गएर पुजा गर्न पाइन्छ ?

    काठमाडौं । भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा वैशाख २८ गते चारै ढोका खुला गरिने भएको छ । अक्षय तृतीयाको अवसरमा मन्दिर भित्रै पसेर भक्तजनलाई शिला छोएर पूजा गर्न दिइने व्यवस्था गरिएको हो । 

    डोलेश्वर महादेव मन्दिरमा अन्य समयमा बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भएतापनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ छ गते, शिवरात्री र अक्षय तृतीयाका दिन बर्षमा तीन दिन मात्रै भित्रै पसेर पुजा गर्न पाउने व्यवस्था छ । 

    अक्षय तृतीयामा मन्दिर व्यवस्थापनका लागि सोमबार केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको वैठक बसेको थियो । वैठकले अरु वर्षजस्तै यस वर्षको अक्षय तृतीयाका दिन पनि मन्दिरको चारै ढोका खोलि दर्शनार्थीलाई मन्दिरभित्रै पसेर पुजा गर्न दिने निर्णय गरेको समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

    सो पर्वमा मन्दिरमा भिड व्यवस्थापनका लागि स्वयंसेवक समितिका संयोजक हरिशचन्द्र थापाको नेतृत्वमा ४० जना स्वयंसेवक खटाइने बस्नेतले बताए । र, समन्वयका लागि मन्दिरको पुजारीहरुको भूमिका रहने उनले बताए । मन्दिरको चारै ढोका खोलिने अन्य दुई दिवसका तुलनामा अक्षय तृतीयामा कम भक्तजनको उपस्थिति रहने गरेको विगतको अनुभव रहेको भएतापनि सुरक्षाका लागि पर्याप्त व्यवस्था गरिएको उनले दाबी गरे । 

    वैठकले विगतका कमीकमजोरीहरुको समिक्षा गर्दै यसपटक सुरक्षा लगायतका क्षेत्रमा सुधार गर्दै लैजाने निर्णय गरेको छ । त्यसबाहेक, श्रावण महिनामा मन्दिरमा ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहने गरेको हुँदा सो समयका लागि अहिलेदेखि नै व्यवस्थापन राम्रो बनाउँदै लैजाने निर्णय समितिले गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij