भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीसंंगको साझेदारीमा चाँगुनारायण नगरपालिकाका सबै वडामा स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजना संचालन गरेकोछ । चाँगुनारायण नगरपालिकाले सरोकारवाला निकायहरुलाई सहारा परियोजनाका बारेमा जानकारी दिने उद्धेश्यले आज चाँगुनारायण नगरपालिकाको वडा नं ३, झौखेल र ४, चाँगुमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा बोल्दै वडा नं ३ का का.वा.वडा अध्यक्ष रमा थापाले ज्येष्ठ नागरिक मिलन केन्द्रहरुलाई क्रियाशील बनाई ज्येष्ठ नागरिकको हक हितका लागि गतविधिहरु सञ्चालन गर्न परियोजना सहयोगी हुने बताइन् । उनले परियोजना सञ्चालन गर्नुभएकोमा चाँगुनारायण नगरपालिका तथा साझेदारीताको लागि नेपाल रेडक्रस मार्फत स्वीस रेडक्रसलाई धन्यवाद दिइन् ।

त्यसै गरी वडा नं ४ का.वा वडा अध्यक्ष प्रदिप खनालले उमेर अनुसार मानिसमा विभिन्न स्वास्थ्य लगायतका समस्याहरु देखापर्ने भएकोल ज्येष्ठ नागरिकहरुको लागि स्थानीय तहले विशेष चासो दिनुपर्ने बताए । उनले पारिवारीक समस्यामा परेका ज्येष्ठ नागरिकहरुलाई सहारा परियोजना साच्चै नै सहारा बन्ने कुरामा विश्वास व्यक्त गरे ।
अभिमुखिकरण कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरुले परियोजना सञ्चालनका बारेमा जानकारी पाउँदा खुशी ब्यक्त गर्दै उनीहरुले भोग्दै आएको कठिनाइहरुको बारेमा पनि अवगत गराएका थिए । उनीहरुले ज्येष्ठ नागरिकका लागि वडाबाटै परिचयपत्र वितरण, दीर्घरोग लागेका ज्येष्ठ नागरिक विरामीहरुको लागि विशेष परिचयपत्र लगायतको व्यवस्था र अशक्त ज्येष्ठनागरिकहरुको लागि घरदैलोमै सामाजिक सुरक्षा भत्ताा वितरणको व्यवस्था मिलाउनुपर्र्नेे जस्ता सुझाब पनि दिएका थिए ।
चाँगुनारायण नगरपालिकाका ज्येष्ठ नागरीकहरुको स्वास्थ्य तथा सम्पन्नतामा सुधार ल्याउन सहयोग गर्ने, ज्येष्ठ नागरीकहरुको लागि आवश्यक सेवाहरुको पहुँचमा अभिबृद्धि गर्ने र ज्येष्ठ नागरीकहरु प्रति समाजले गर्ने कार्य तथा ब्यबहारहरुमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यका साथ सहारा परियोजना ज्येष्ठ नागरिक मिलन केन्द्र मार्फत चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा संचालन हुनेछ । जनवरी २०२४ देखि डिसेम्बर २०२६ सम्म ३ वर्षका लागि संचालन हुने परियोजनाको कुल लागत ३ करोडको हुनेछ । स्वीस रेडक्रसले परियोजनाको कम्तीमा ५० प्रतिशत लागत ब्यहोर्नेछ भने बाँकी रकम नगरपालिकाले वार्षिक बजेटबाट विनियोजन गर्ने कुरा कार्यक्रम नगरपालिकाका विपद् विज्ञ एवं सहारा परियोजनाका संयोजक दिनेश थापाले बताए । उनले नगरपालिकाले नगरबासी ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य तथा संरक्षणको क्षेत्रमा संचालन गरेका गतिविधहरुलाई समेत परीयोजनामा समावेश गरी एकिकृत रुपमा सञ्चालन गरीने बताए ।

अभिमुखिकरणमा वडाका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, विद्यालयका प्रतिनिधिहरु, रेडक्रसका स्वयंसेवकहरु, महिला स्वास्थ्य स्वयंसेवीका, ज्येष्ठ नागरिक मिलन केन्द्रका प्रतिनिधिहरु, महिला समुहका प्रतिनिधिहरु, युवा समुहका सदस्यहरु, वडाका कर्मचारीहरु लगायत वडाका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । सहारा परियोजना अन्तर्गत वडा तथा नगरस्तरमा सञ्चालन गरिने गतिविधिहरुको बारेमा सहभागिहरुलाई जानकारी गराइएको अभिमुखिकरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रका कार्यक्रम संयोजक राजु राउत, चाँगुनारायण नगरपालिकाका कार्यक्रम संयोजक दिनेश थापा र भक्तपुर रेडक्रसकी कार्यक्रम संयोजक उमा थापा, चाँगुनारायण नगरपालिकाका कार्यक्रम सहायक सञ्जय अवालले सहजिकरण गरेका थिए ।