भक्तपुर । चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन गरिएको छ । नगरपालिकाको आयोजनामा आइसेट नेपाल तथा डिसिए नेपालको आर्थिक सहयोगमा वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाद्वारा नगरका सबै वडामा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन कार्यक्रम गरिएको हो ।
सुख्खा मौसम तथा गर्मीका कारण दिनानुदिन आगलागीका घटनाहरु भइरहेको अवस्थामा आगलागी रोकथाम तथा न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि आगलागी सुरक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको कुरा नगर प्रमुख जीवन खत्रीले बताए । उनले सम्भावित विपद्को रोकथाम र जोखिम न्यूनीकरणका लागि नगरपालिकाले यस प्रकारको सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको बताए । मनसुनको समय आउन लागेकोले चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्ष तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरी बाढी, पहिरो, आगलागी, महामारी लगायतका विपद्बाट नगरबासीलाई सुरक्षित बनाउन प्रभावकारी प्रतिकार्य योजना बनाई लागू गरिरहेको कुरा नगर प्रमुख खत्रीले बताए ।
नगर प्रमुख खत्रीले २०७२ साल बैशाख १२ गतेको दिन गएको विनाशकारी भूकम्पको क्षतिबाट पाठ सिक्दै समुदायको क्षमता अभिबृद्धि गरी पूर्वतयारीका गतिविधिहरु गर्दै भविष्यमा आउनसक्ने भूकम्पबाट नगरबासीलाई बचाउनको लागि पूर्वतयारीका योजनाहरु, विपद् जोखिम रणनीतिक कार्ययोजना, आकस्मिक प्रतिकार्य योजना, खोज तथा उद्धार सामग्रीहरु वडास्तरमा भण्डारण, विपद् व्यवस्थापनका लागि आकस्मिक कोष लगायतका आवश्यक तयारी गरेको जानकारी पनि दिए । प्रत्येक समुदायमा प्रथम उद्धारकर्ता टोली तयार गर्ने कार्यको शुरुवात गर्दै यसै वर्ष ८३ जना विपद् व्यवस्थापन स्वयंसेवकहरुलाई प्राथमिक उपचार र खोज उद्धारको तालिम दिएको कुरा नगर प्रमुख खत्रीले जानकारी दिए ।
बैशाख ४ गते वडा नं १ बाट शुरु भएको आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन कार्यक्रम बैशाख १२ गते वडा नं ९ ताथलीमा सम्पन्न भएको थियो ।
चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोमप्रसाद प्रधानले चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण कार्यमा विकास साझेदार संस्थाहरु संग सहकार्य र समन्वय गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उनले समुदायमा विपद् पर्दा तत्काल प्रतिकार्यको लागि प्राथमिक उपचार र खोज उद्धारको शिप प्राप्त विपद् व्यवस्थापन स्वयंसेवक तयार गरेको जानकारी दिए ।
आगलागी, यसका कारणहरु, नियन्त्रणका उपायहरुका बारेमा सैद्धान्तिक तथा व्यवहारीक ज्ञान दिइएको अभिमुखिकरण तथा अभ्यास प्रदर्शनमा आगलागी भएको अवस्थामा स्थानीय साधन श्रोतको प्रयोग गरी ग्याँस सिलिण्डरमा समस्यका कारण भएको आगलागी तथा अन्यकारण बाट भएको आगलागी नियन्त्रण गर्ने उपायका साथै फाइर एक्सटिंगुसरको प्रयोगका बारेमा पनि अभ्यास गराइएको थियो ।
कार्यक्रममा सहभागि वडा अध्यक्ष तथा सदस्यहरुले घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डरमा चुहावट भै हुने आगलागीले ठुलो धनजनको क्षति हुनेगरेको हुँदा यस कार्यक्रमले त्यसको न्यूनीकरण गर्न सहयोग पु¥याउनेमा विश्वस्त रहेको बताउनुका साथै दिनानुदिन बढिरहेको आगलागी घटनाहरु समुदायस्तरमै धेरै बढिरहेको हुँदा यस अभिमुखिकरण तथा नमुना अभ्यास कार्यक्रमले समुदायमा आगलागी रोकथाम तथा न्यूनीकरण गर्न सहज हुने बताएका थिए ।
उनीहरुले समुदायमा सचेतना अभिबृद्धिका लागि विभिन्न सञ्चार माध्यमबाट आगलागी, चटयाङ, सडक दुर्घटना, महामारी, भूकम्प लगायतका विपद्बाट बच्ने उपायहरुबा बारेमा जारी गरेका सन्देश र सामाजिक सञ्जालकाट पनि जनचेतनामूलक सन्देश प्रशारण गरेकामा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखालाई यस प्रकारको कार्यक्रम आयोजनाको लागि र आइसेट नेपाल तथा डिसिए नेपाललाई आर्थिक सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ तथा सहारा परियोजनाका संयोजक दिनेश थापाले चाँगुनारायण नगरपालिकाले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्नुका साथै विद्यालय र समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि सचेतना अभिबृद्धिका विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गरीरहेको बताए । उनले ९ वटै वडामा गरी ३ सय जनाको हाराहारीमा समुदायका विभिन्न मानिसहरुले आगलागी रोकथाम तथा नियन्त्रणका उपायहरु बारेमा जानकारी लिएको साथै अभ्यासको प्रदर्शनमा सहभागि भएको बताए ।
कार्यक्रममा आइसेट नेपालका फिल्ड अधिकृत भरत ढुंगानाले डिसिए नेपालको सहयाोगमा आइसेट नेपालले नेक्सस २ परियोजना संचालन गरिरहेको जानकारी गराएका थिए । अभिमुखिकरण कार्यक्रममा दिनेश थापा, राजकुमार लम्साल, दिवाकर पौडेल, अनुप मल्ल, सञ्जय अवालले सहजिकरण गरेका थिए ।