काठमाडौँ । नेपालमा ऊर्जा रूपान्तरण, औद्योगिक क्षेत्रमा कार्बन उत्सर्जन न्यूनीकरण र दिगो आर्थिक विकासका लागि हरित हाइड्रोजनको सम्भावना तथा रणनीतिक मार्ग समेटिएको पुस्तक सार्वजनिक गरिएको छ ।
काठमाडौँ विश्वविद्यालयमा गरिएको अनुसन्धान तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय सहकार्यका आधारमा तयार पारिएको ‘नेपालमा हरित हाइड्रोजन : गहिरो कार्बन न्यूनीकरण र औद्योगिक रूपान्तरणका रणनीतिक मार्ग’ “Green Hydrogen in Nepal: Strategic Pathways for Deep Decarbonization and Industrial Transformation” नामक पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकको संयुक्त रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. भोला थापा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा। विवेक बराल र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक प्रा. भूपेन्द्र बिमल क्षेत्रीले विमोचन गर्नुभयो ।
लेखक डा. बिराज सिंह थापाको दुई दशक लामो अनुसन्धानको प्रतिफल पुस्तकका लेखक डा. बिराज सिंह थापा काठमाडौँ विश्वविद्यालयको यान्त्रिक इन्जिनियरिङ विभागका सहप्राध्यापक तथा हरित हाइड्रोजन प्रयोगशालाका प्रमुख हुनुहुन्छ । उहाँ विगत दुई दशकदेखि नवीकरणीय ऊर्जा, जलविद्युत्, हरित हाइड्रोजन तथा उद्योगको कार्बन उत्सर्जन न्यूनीकरणका क्षेत्रमा अनुसन्धान, प्रविधि विकास र नीतिगत अध्ययनमा सक्रिय रहँदै आउनुभएको छ ।
डा. थापाको नेतृत्व र अनुसन्धान अनुभवलाई केन्द्रमा राखेर तयार गरिएको पुस्तकले नेपालमा हरित हाइड्रोजनको विकासका लागि आवश्यक सम्भावना, चुनौती र रणनीतिलाई तथ्य तथा अनुसन्धानका आधारमा प्रस्तुत गरेको छ ।

हरित हाइड्रोजन प्रयोगशालाका अनुसन्धानकर्ता, विद्यार्थी तथा विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सहकार्यका साझेदारहरूको संयुक्त प्रयासमा तयार भएको पुस्तकमा नेपालमा हरित हाइड्रोजनको उत्पादन, भण्डारण, ढुवानी र औद्योगिक प्रयोगका सम्भावनाबारे विस्तृत चर्चा गरिएको छ ।
विशेषगरी नेपालमा उपलब्ध जलविद्युत् स्रोतको प्रभावकारी उपयोग गरी हरित हाइड्रोजन उत्पादन गर्ने, ऊर्जा सुरक्षालाई थप मजबुत बनाउने, आयातित जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने तथा वातावरणमैत्री औद्योगिकीकरणलाई गति दिने विषयलाई पुस्तकले प्राथमिकताका साथ उठाएको छ ।
नेपाल सरकारले पनि हरित हाइड्रोजनको विकासका लागि नीतिगत पहललाई तीव्रता दिइरहेको छ । हरित हाइड्रोजन नीति निर्माणको प्रक्रिया, करसम्बन्धी प्रोत्साहनका व्यवस्था तथा २.५ मेगावाट क्षमताको व्यावसायिक प्रारम्भिक परियोजना घोषणा हुनुले नेपालमा यस क्षेत्रको विकासका लागि नयाँ सम्भावनाको ढोका खोलेको पुस्तकमा उल्लेख गरिएको छ ।
नेपालमा प्रशस्त जलविद्युत् उत्पादनको सम्भावना रहेकाले त्यसलाई हरित हाइड्रोजन उत्पादनसँग जोड्न सके ऊर्जा क्षेत्र मात्र नभई उद्योग, यातायात र समग्र अर्थतन्त्रमा समेत सकारात्मक रूपान्तरण ल्याउन सकिने लेखक डा। थापाको अनुसन्धानले देखाएको छ ।
काठमाडौँ विश्वविद्यालयले नवीकरणीय ऊर्जा, हरित हाइड्रोजन तथा दिगो औद्योगिक विकासका क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र ज्ञान सिर्जनालाई निरन्तरता दिँदै यस क्षेत्रको अध्ययन तथा अनुसन्धानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।