काठमाडौं । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार आयरल्यान्ड ‘ए’ ले नेपालको ‘ए’ टोलीलाई ६९ रनले हराएको छ । जितसँगै आयरल्यान्डले तीन खेलको शृंखलामा ‘क्लिन स्विप’ पनि गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङको निणर्य लिएको आयरल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो ।
ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन् । देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए ।
आयरल्यान्डका बेन ह्वाइटले ५ विकेट, गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए ।
त्यस्तै, आयरल्यान्डको जितमा स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रनको शतकीय इनिङ खेलेका थिए । पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । पिटर मुर आउट हुँदा आयरल्यान्ड १३।३ ओभरमा ९०–२ को अवस्थामा थियो ।
उनी आउट भएपछि मध्यक्रमका ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन् । केड कार्माइकल २१, निल रक १, गेभिन होइ १४, फिओन ह्यान्ड २० रनमा आउट भए । तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए ।
बलिङमा नेपालका रिजन ढकाल र रञ्जित कुमारले ३/३ विकेट लिए। उनले १० ओभरमा ७५ रन दिए। विकाश आग्री र साहब आलमले १/१ विकेट लिए । नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।