भक्तपुर । सूर्यविनायक नगरपालिकाले वडा नं. ५ र वडा नं ६ लाई सोमबार छुट्टाछुट्टै कार्यक्रममार्फत औपचारिक रूपमा ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरेको छ । वडा नं. ५ मा आयोजित कार्यक्रममा नगर प्रमुख बासुदेव थापाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै बालबालिकाहरूको अधिकार सुनिश्चित गर्ने तथा स्थानीय विकास प्रक्रियामा बाल सहभागिता अभिवृद्धि गर्ने दीर्घकालीन अभियान भएको बताए ।

नगर प्रमुख थापाले बालमैत्री स्थानीय शासनका आवश्यक सूचक तथा मापदण्ड पूरा गर्न विगत तीन वर्षदेखि निरन्तर जनशक्ति परिचालन, अनुगमन, मूल्याङ्कन तथा आवश्यक तयारीका कार्यहरू सञ्चालन गरिएको जानकारी दिए । सबै मापदण्ड पूरा भएको सुनिश्चित भएपछि मात्रै वडालाई औपचारिक रूपमा घोषणा गरिएको उनले स्पष्ट पारे ।

नगर प्रमुख थापाले सोमबारसम्म सूर्यविनायक नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सबै वडाहरू बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको जानकारी दिँदै बाँकी तीन वटा वडालाई पनि आवश्यक प्रक्रिया पूरा गरी बुधबारभित्र घोषणा गर्ने तयारी रहेको बताए ।


यसैगरी, वडा नं. ६ लाई पनि छुट्टै कार्यक्रममार्फत नगरप्रमुख थापाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका थिए । उनले ६ नं वडालाई बालमैत्री वडा घोषणा गर्नुका कारण प्रस्ट पारेका थिए । कार्यक्रममा ६ नं वडाका अध्यक्ष ईश्वर खड्काले नगरपालिका स्थापना भएदेखि नै बालमैत्री शासनको अवधारणालाई आत्मसात गर्दै आएको उल्लेख गर्दै अहिले आवश्यक सबै सूचक तथा मापदण्ड पूरा भएपछि औपचारिक घोषणा गरिएको बताए । घोषणा कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीले वडामा सबै सूच पूरा गरेर बालमैत्री स्थानीय शासन घोषणा गरिएको बताए ।


बालमैत्री स्थानीय शासनले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता तथा सुरक्षित वातावरण सुनिश्चित गर्दै स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने लक्ष्य लिएको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए । कार्यक्रममा वडाका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


नगरपालिकाकि उप प्रमुख सरिता तिम्सिना भट्टराईका अनुसार, ‘बालमैत्री व्यवहार, समृद्ध सूर्यविनायकको आधार’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सूर्यविनायक नगरपालिकाले बालमैत्री स्थानीय शासन अभियानलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।

बालबालिकाको अधिकार, संरक्षण, सहभागिता र समग्र विकासलाई संस्थागत गर्दै नगरपालिकाले बालमैत्री स्थानीय शासन अभियानमा उल्लेखनीय प्रगति हासिल गरेको नगर प्रबक्ता रविन्द्र सापकोटाले बताए ।

