दक्षिणबाराही पार्कमा २९ जनाद्वारा रक्तदान, एसइइ उत्कृष्ट २३ विद्यार्थी सम्मानित

दक्षिणबाराही पार्कमा २९ जनाद्वारा रक्तदान, एसइइ उत्कृष्ट २३ विद्यार्थी सम्मानित

शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • दक्षिणबाराही पार्कमा २९ जनाद्वारा रक्तदान, एसइइ उत्कृष्ट २३ विद्यार्थी सम्मानित

    भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दक्षिणबाराही पार्कमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व र शैक्षिक प्रोत्साहनलाई जोड्दै आयोजित कार्यक्रममा एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका २३ विद्यार्थीलाई पनि सम्मान गरिएको छ।

    शंकर योग साधना केन्द्र, ओम सिर्जनशील समाज र सिर्जनशील महिला समाजको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सम्पन्न कार्यक्रममा रक्तदाता र सम्मानित विद्यार्थीलाई विशेष रूपमा प्रोत्साहन गरिएको हो। आयोजकका अनुसार उपत्यकामा बेला–बेलामा देखिने रगत अभावको समस्यालाई न्यूनीकरण गर्न तथा मानव सेवाको भावनालाई प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका २३ विद्यार्थीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो। ४ जीपीए प्राप्त गर्ने एक विद्यार्थीलाई भने नगद पुरस्कारसहित विशेष सम्मान गरिएको आयोजकले जनाएको छ।

    यसै अवसरमा अरनिको माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत एक आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ। समाजले ती विद्यार्थीलाई आगामी दिनमा पनि वार्षिक रूपमा अध्ययनका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

    संस्थाका अध्यक्ष अर्जुन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं सूर्यविनायक–४ का वडाध्यक्ष लछुराम न्यौपानेले रक्तदाता तथा विद्यार्थीलाई प्रमाणपत्र र सम्मानपत्र वितरण गरे।

    कार्यक्रममा वडा सदस्य तारा सापकोटा, दधिकोट खानेपानी आयोजनाका अध्यक्ष कृष्ण खड्का, नगरपालिकाका योजना प्रमुख जनक न्यौपाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यवसायी तथा समाजका अगुवाको उपस्थिति रहेको थियो।

    आयोजक संस्थाहरूले समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रत्येक वर्ष यस्ता सामाजिक, शैक्षिक तथा मानवीय सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्।

    3333.jpg

    11111.jpg

    22222.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij