भक्तपुरमा बर्ड फ्लु नियन्त्रण अभियान तीव्र, दुवाकोट–ताथलीमा करिब ४ हजार कुखुरा नष्ट

भक्तपुरमा बर्ड फ्लु नियन्त्रण अभियान तीव्र, दुवाकोट–ताथलीमा करिब ४ हजार कुखुरा नष्ट

शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • भक्तपुरमा बर्ड फ्लु नियन्त्रण अभियान तीव्र, दुवाकोट–ताथलीमा करिब ४ हजार कुखुरा नष्ट

    भक्तपुर । भक्तपुरमा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएपछि नियन्त्रण अभियान तीव्र पारिएको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा हजारौँ कुखुरा, अण्डा र दाना नष्ट गरिएको छ भने आसपासका पोल्ट्री फार्ममा निगरानी कडा बनाइएको छ।

    सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार र वडा नं. ४ दधिकोट तथा चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोट र वडा नं. ९ ताथलीमा कुखुरा अस्वाभाविक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा घातक ‘हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्ड फ्लु) संक्रमण पुष्टि भएको हो।

    संक्रमण पुष्टि भएसँगै पशु स्वास्थ्य तथा स्थानीय तहका प्राविधिक टोलीले नियन्त्रण अभियान सञ्चालन गरेका छन्। अभियानअन्तर्गत हालसम्म दुवाकोट र ताथली क्षेत्रमा करिब ३ हजार ८ सय ३० कुखुरा, ८ हजार ४ सय अण्डा तथा १ हजार ५ सय ५० किलोग्राम दाना नष्ट गरिएको छ।

    संक्रमण थप फैलिन सक्ने जोखिम रहेकाले प्रभावित क्षेत्र आसपासका पोल्ट्री फार्ममा विशेष निगरानी थालिएको छ। केही स्थानमा अझै पनि कुखुराको अस्वाभाविक मृत्यु देखिएकाले संक्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको सम्बन्धित निकायले जनाएको छ।

    चाँगुनारायण नगरपालिका पशुपन्छी विकास शाखाका अनुसार संक्रमित तथा जोखिमयुक्त फार्ममा तत्काल नियन्त्रण अभियान सञ्चालन गरिएको छ। संक्रमणको शृङ्खला तोड्न कुखुरा, अण्डा र दाना सुरक्षित तरिकाले नष्ट गर्ने कार्यलाई प्राथमिकता दिइएको जनाइएकाे छ।

    पशु स्वास्थ्यकर्मीहरूले किसानलाई फार्ममा जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन, बाह्य व्यक्तिको प्रवेश नियन्त्रण गर्न तथा कुखुरामा असामान्य लक्षण वा मृत्यु देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेका छन्।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij