काठमाडौं । विभिन्न देशका लागि राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि सरकारले आह्वान गरेको खुला प्रतिस्पर्धामा झण्डै तीन हजार जनाले आवेदन दिएका छन्। इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति गर्न लागिएको प्रक्रियाप्रति उच्च आकर्षण देखिएको हो।
परराष्ट्र मन्त्रालयले जेठ १४ गतेदेखि आवेदन आह्वान गरेको थियो। मन्त्रालयका अनुसार शुक्रबारसम्म अनलाइन, इमेल तथा प्रत्यक्ष उपस्थितिमार्फत करिब तीन हजार आवेदन प्राप्त भएका छन्।
सरकारले १३ वटा राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि आवेदन मागेको थियो। यसअघि विभिन्न देशमा राजनीतिक नियुक्तिबाट गएका राजदूतहरू फिर्ता बोलाइएपछि ती पद रिक्त भएका थिए। रिक्त पदमा योग्यता, अनुभव र प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने उद्देश्यले सरकारले खुला आवेदन प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयले प्राप्त आवेदनहरूको रुजु, प्रमाणीकरण र मूल्याङ्कन प्रक्रिया पूरा गरेपछि योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको जनाएको छ। त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा प्रस्तावित उम्मेदवारहरूको संसदीय सुनुवाइ हुनेछ।
संसदीय सुनुवाइबाट अनुमोदन भएका उम्मेदवारलाई राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।
खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट गर्ने सरकारी निर्णयलाई कूटनीतिक क्षेत्रमा व्यावसायिकता र पारदर्शिता प्रवर्द्धन गर्ने प्रयासका रूपमा हेरिएको छ। १३ पदका लागि झण्डै तीन हजार आवेदन पर्नुले राजदूत पदप्रति व्यापक चासो र प्रतिस्पर्धा रहेको देखाएको छ।