कटुञ्जेमा ८० प्रतिशत विकास पूरा, स्थानीयको जोड खानेपानी र सिसिटिभीमा

कटुञ्जेमा ८० प्रतिशत विकास पूरा, स्थानीयको जोड खानेपानी र सिसिटिभीमा

शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • कटुञ्जेमा ८० प्रतिशत विकास पूरा, स्थानीयको जोड खानेपानी र सिसिटिभीमा

    भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा पछिल्लो नौ वर्षमा उल्लेख्य पूर्वाधार विकास भए पनि खानेपानी, सडक बत्ती र सिसिटिभी जडानलाई स्थानीयले प्रमुख आवश्यकता भन्दै जोड दिएका छन् ।

    क्रियाशील पत्रकार मञ्च भक्तपुरको आयोजनामा शुक्रबार कटुञ्जे सामुदायिक भवनमा भएको वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले सडक, ढल र भौतिक पूर्वाधारमा सुधार भए पनि सुरक्षित र दिगो खानेपानी व्यवस्थापन अझै प्रमुख समस्या रहेको बताएका हुन् ।

    कार्यक्रममा वडा अध्यक्ष राजकुमार जोशीले वडामा पूर्वाधार विकासका करिब ८० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै बाँकी योजनालाई आगामी ११ महिनाभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विगतको अवस्थासँग तुलना गर्दै अहिले वडाको स्वरूपमा उल्लेख्य परिवर्तन आएको दाबी गरे ।

    “अधिकांश ठाउँमा सडक पुगेका छन्, ढलसहित कालोपत्रे र ढलान भएका छन्, र सीमाना पर्खाल पनि निर्माण गरिएको छ,” अध्यक्ष जोशीले भने, “अब बाँकी काम पूरा गरेर विकासलाई अन्तिम चरणमा पुर्‍याउनेछौँ।”

    1.jpeg

    उनले संघीय सरकारले यस वर्ष वडाका केही योजनामा बजेट कटौती गरेको बताउँदै प्रदेश सरकारमार्फत ठूला परियोजनामा बजेट सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारका मन्त्री किरण थापा मगरले केही योजनामा बजेट समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै, संघीय स्रोतबाट विनियोजित करिब चार करोड रुपैयाँमध्ये ‘तीन धारा सडक स्तरोन्नति’ लगायतका काम भइरहेको र स्थानीय साझेदारीमा सञ्चालन हुने योजनामध्ये करिब ५० लाख रुपैयाँमध्ये ५ लाख मात्र खर्च भएको उनले बताए ।

    वडा अध्यक्ष जोशीले वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँको नगर बजेट मात्र पर्याप्त नभएकाले संघ र प्रदेश सरकारसँग समन्वय गरेर थप बजेट ल्याउने प्रयास जारी रहेको उल्लेख गरे । उनले विगतमा विभिन्न सांसदहरूको सहयोगमा समेत विकास योजनाहरू अघि बढाइएको स्मरण गरे ।

    2.jpeg

    खानेपानी समस्या समाधानका लागि मेलम्चीको पानी वितरण विस्तार गर्ने प्रयास भइरहेको र स्थानीय स्रोत पहिचानको काम पनि जारी रहेको उनको भनाइ थियो । उनका अनुसार वडामा करिब १० हजार घरधुरीमध्ये ७ हजारमा पानी वितरण भइरहेको छ भने बाँकीमा विस्तार गर्ने काम अघि बढाइएको छ ।

    स्थानीयवासीले वडामा विकासका काम भए पनि सुरक्षित वातावरणका लागि सडक बत्ती र सिसिटिभी क्यामेरा जडान गर्न, साथै शुद्ध खानेपानीको दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।

    प्रहरी नायब निरीक्षक नेत्रबहादुर कार्कीले चोरी नियन्त्रण र शान्ति सुरक्षाका लागि नियमित गस्ती भइरहेको जानकारी दिए । उनका अनुसार गडेधारा टोलमा लागूऔषध प्रयोग गर्ने करिब ५० किशोरलाई नियन्त्रणमा लिएर परिवारको जिम्मा लगाइएको छ ।

    3.jpeg

    कार्यक्रममा स्थानीयवासी रत्न श्रेष्ठ, मिलन कार्की, हरेराम चौगुठी, विरेन्द्र थापा, चिरञ्जीवी पोखरेल, युवराज घिमिरे, सुशिल श्रेष्ठ, प्रदीप श्रेष्ठ, सविना श्रेष्ठ, कविता पोखरेल, अर्चना खरेल, देवीबहादुर बस्नेत, सिमन तामाङलगायतले पूर्वाधार विकास सन्तोषजनक भए पनि खानेपानी, सडक बत्ती र सुरक्षा व्यवस्थापनमा स्थानीय सरकारले थप ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij