काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत नामअघि ‘डा.’ (डाक्टर) उपाधि प्रयोग गर्ने व्यक्तिविरुद्ध कारबाही गरिने चेतावनी दिएको छ।
काउन्सिलले शनिबार विज्ञप्ति जारी गर्दै चिकित्सकका लागि निर्धारित ‘डा.’ उपाधि अवैध रूपमा प्रयोग गर्ने तथा त्यसको आडमा बिरामी जाँच्ने, स्वास्थ्य परामर्श दिने लगायतका गतिविधि गर्ने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने जनाएको हो।
यसअघि काउन्सिलले जेठ ७ गते सूचना प्रकाशित गर्दै गैरकानुनी रूपमा ‘डा.’ उपाधि प्रयोग नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको थियो। उक्त आग्रहलाई बेवास्ता गरी अझै पनि केही व्यक्तिले नामअघि ‘डा.’ लेख्ने तथा आफूलाई चिकित्सकका रूपमा प्रस्तुत गर्ने गतिविधि गरिरहेको पाइएकाले काउन्सिलले पुनः चेतावनी जारी गरेको जनाएको छ।
काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन तथा प्रचलित कानुनबमोजिम दर्ता भएका चिकित्सकबाहेक अन्य व्यक्तिले ‘डा.’ उपाधि प्रयोग गरी चिकित्सा सेवा प्रदान गर्नु गैरकानुनी कार्य हो। यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रममा पार्नुका साथै स्वास्थ्य सेवाको विश्वसनीयतामाथि समेत प्रश्न उठाउने काउन्सिलको भनाइ छ।
काउन्सिलले अवैध रूपमा चिकित्सकको उपाधि प्रयोग भएको, त्यसको आडमा बिरामी जाँच्ने वा स्वास्थ्यसम्बन्धी परामर्श दिने काम भइरहेको जानकारी भए प्रमाणसहित उजुरी दिन सर्वसाधारण, बिरामी, स्वास्थ्य संस्था, सञ्चारमाध्यम तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
प्राप्त उजुरीमाथि आवश्यक छानबिन गरी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने काउन्सिलले जनाएको छ।