काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ । यसअघि १२ जेठदेखि लागू हुने गरी निर्धारण गरिएको मूल्य ११ दिनमै पुनः संशोधन गर्दै संघले शनिबारदेखि नयाँ मूल्य लागू गरेको हो ।
शुक्रबार काठमाडौंमा बसेको उत्पादकहरूको भौतिक तथा भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको फार्म समर्थन मूल्य वृद्धि गर्ने निर्णय गरेको संघले जनाएको छ ।
नयाँ निर्णयअनुसार एक्सएल, ठूलो र मिडियम सबै आकारका अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाइएको छ । एक क्रेटमा ३० वटा अन्डा हुन्छन् ।
संशोधित मूल्यअनुसार एक्सएल अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट ५६० रुपैयाँ कायम गरिएको छ । यसअघि यसको मूल्य ५४५ रुपैयाँ थियो । त्यस्तै ठूलो अन्डाको मूल्य ५३० रुपैयाँबाट बढाएर ५४५ रुपैयाँ पुर्याइएको छ भने मिडियम अन्डाको मूल्य ५०० रुपैयाँबाट बढाएर ५१५ रुपैयाँ निर्धारण गरिएको छ ।
सानो अन्डाको हकमा भने यसअघि प्रतिक्रेट ४०० रुपैयाँ तोकिएकोमा अहिले प्रतिपेटी ३ हजार रुपैयाँ मूल्य कायम गरिएको संघले जनाएको छ ।
उत्पादक स्तरमा मूल्य बढे पनि उपभोक्ताले बजारमा तिर्नुपर्ने खुद्रा मूल्य भने तत्कालका लागि यथावत राखिएको छ । संघका अनुसार अन्डाको खुद्रा बिक्री मूल्य प्रतिगोटा २५ रुपैयाँ नै कायम रहेको छ ।
अन्डाको उत्पादन लागत, बजारको माग–आपूर्ति अवस्था तथा किसानको हितलाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको संघले जनाएको छ । हालै गरिएको यो मूल्यवृद्धिसँगै किसानले उत्पादन गरेको अन्डाको बिक्री मूल्य बढे पनि उपभोक्ता बजारमा भने तत्काल प्रभाव नपर्ने देखिएको छ ।