भक्तपुर । सार्वजनिक सुनुवाई कार्यक्रमहरू प्रायः जनगुनासा, आलोचना र जनप्रतिनिधिमाथिको प्रश्नवर्षाका लागि परिचित हुन्छन् । तर चाँगुनारायण नगरपालिका वडा नं. ६ मा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा भने फरक र दुर्लभ दृश्य देखियो । यहाँ जनप्रतिनिधिमाथि प्रश्नभन्दा बढी प्रशंसा सुनियो, आलोचनाभन्दा बढी विश्वास व्यक्त गरियो र राजनीतिक दलहरूबीच मतभिन्नताभन्दा बढी सहमतिको स्वर घन्कियो ।

राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडा कार्यालय परिसरमा आयोजित सार्वजनिक सुनुवाई तथा चारवर्षे प्रगति समीक्षा कार्यक्रममा सहभागी स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाले वडा अध्यक्ष धनबहादुर लामा को कार्यशैलीप्रति खुलेर प्रशंसा व्यक्त गरे । कार्यक्रमले उनलाई चाँगुनारायण–६ का मात्र होइन, समग्र नगरकै एक सर्वमान्य र सर्वस्वीकार्य वडाध्यक्षका रूपमा चित्रित गरिदियो ।

कार्यक्रममा स्थानीयवासीहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन, वन संरक्षण, सार्वजनिक सम्पत्ति व्यवस्थापन लगायतका विषयमा केही प्रश्न र सुझाव प्रस्तुत गरे । तर ती प्रश्नहरूमा पनि आक्रोश वा असन्तुष्टि भन्दा समाधानको अपेक्षा बढी देखिन्थ्यो । अन्य सार्वजनिक सुनुवाईमा जस्तै जनप्रतिनिधिमाथि तीखा आरोप वा कटाक्षहरू सुनिएनन् ।

झन् रोचक पक्ष त के रह्यो भने विभिन्न राजनीतिक दलका स्थानीय नेतृत्वकर्ताहरूले समेत वडाध्यक्ष लामाको खुलेर प्रशंसा गरे । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) प्रतिनिधिहरूले फरक–फरक राजनीतिक विचार बोके पनि वडा सञ्चालनमा लामाले देखाएको समन्वयकारी नेतृत्व, जनमैत्री व्यवहार र विकासप्रतिको प्रतिबद्धताप्रति एउटै धारणा व्यक्त गरे । झनै उनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्षले तारिफ नगर्ने त कुरै भएन ।

उनीहरूले वडाध्यक्ष लामालाई ऊर्जाशील, जनपक्षीय, सर्वपक्षीय र समन्वयकारी नेतृत्व भएको भन्दै वडा सरकारको सीमित अधिकार र स्रोतका बाबजुद उल्लेखनीय काम गर्न सफल भएको बताए । जनताको विश्वास जित्नु नै जनप्रतिनिधिको सबैभन्दा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनीहरूले वडाध्यक्ष लामाले त्यो सफलता हासिल गरेको धारणा राखे ।

वडा सचिव राजेन्द्र गणेशले प्रस्तुत गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा स्वीकृत १०० योजनामध्ये ६२ वटा सम्पन्न भइसकेका छन् भने ३८ वटा कार्यान्वयनको चरणमा छन् । सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, महिला तथा बालबालिका सशक्तीकरण, ज्येष्ठ नागरिक हित, खेलकुद तथा पूर्वाधार विकासका क्षेत्रमा वडाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिइयो ।

वडाध्यक्ष धनबहादुर लामाले विकास र सुशासनलाई सँगसँगै अघि बढाउने प्रयास गरेको बताउँदै नगरकोटको समृद्धि जनप्रतिनिधि र जनताको साझा सहकार्यबाट मात्र सम्भव हुने धारणा व्यक्त गरे । उनले सीमित स्रोतसाधनका बीच पनि जनभावनाअनुसार काम गर्ने प्रयास जारी रहेको बताए ।

उनका अनुसार तीनै तहका सरकारको सहकार्यमा वडामा वार्षिक करिब २० करोड रुपैयाँ बराबरका भौतिक तथा सामाजिक विकासका कार्यक्रम सञ्चालन भइरहेका छन् । नगरकोटको पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा विस्तार, वनलाई पर्यटनसँग जोड्ने योजना तथा स्थानीय उत्पादनको प्रवद्र्धनमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको उनले बताए ।

कार्यक्रममा नगरकोट प्रहरी प्रभागका प्रमुख शिव थपलियाले समेत जनप्रतिनिधि र प्रहरीबीच उत्कृष्ट समन्वय रहेको उल्लेख गर्दै नगरकोट क्षेत्रमा शान्ति सुरक्षा सुदृढ रहेको बताए । समस्या आएको केही मिनेटभित्रै प्रहरी परिचालन गरी समाधान गर्ने अभ्यास स्थापित भएको उनको भनाइ थियो ।
सार्वजनिक सुनुवाईको समापनतिर पुग्दा कार्यक्रमको मुख्य निष्कर्ष स्पष्ट देखिन्थ्यो, चाँगुनारायण–६ मा विकासका सबै काम सम्पन्न भइसकेका छैनन्, चुनौतीहरू अझै बाँकी छन्, तर नेतृत्वप्रति नागरिकको विश्वास भने मजबुत छ । राजनीतिक दलहरूबीच प्रतिस्पर्धा भए पनि वडाध्यक्ष धनबहादुर लामाको कार्यशैलीप्रति देखिएको साझा सम्मान र समर्थनले उनलाई वडाभित्र ‘सर्वमान्य वडाध्यक्ष’ का रूपमा स्थापित गरेको अनुभूति कार्यक्रमभरि गर्न सकिन्थ्यो । पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार र क्रियाशील पत्रकार संघका अध्यक्ष रमेस गिरीले पनि वडा अध्यक्ष तामाङ वडामा सर्वमान्य रहेको निश्कर्ष निकालेका थिए ।

संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । संस्थाका सल्लाहकार दिवस गुरागाईंले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए भने सचिव हेमराज ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।


