रुपन्देही । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४ सय ५३ जना नेपाली नागरिकको उद्धार गरी स्वदेश ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार आकर्षक जागिर र राम्रो आम्दानीको प्रलोभनमा पारेर कुशीनगर पुर्याइएका नेपालीहरूलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो।
सूचनाका आधारमा विशेष अपरेशन सञ्चालन गर्दै नेपाल प्रहरीको टोली गएराति कुशीनगर पुगेको थियो। उद्धार गरिएका ४ सय ५३ जनालाई ८ वटा बसमार्फत बेलहिया नाका हुँदै शुक्रबार बिहान रुपन्देही ल्याइएको प्रहरीले जनाएको छ।
उद्धार गरिएका व्यक्तिहरूमध्ये करिब आधा महिला रहेका छन्। हाल उनीहरूको व्यक्तिगत विवरण तथा पहिचान सङ्कलन गर्ने कार्य भइरहेको छ।
प्रहरीका अनुसार एक गिरोहले रोजगारीको प्रलोभन देखाएर उनीहरूलाई उत्तर प्रदेशको कुशीनगर क्षेत्रमा पुर्याएको थियो। घटनामा संलग्न गिरोहको पहिचान हुन बाँकी रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
मानव बेचबिखन तथा ओसारपसारको आशंकासहित घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।