भक्तपुर । भक्तपुर जिल्लाव्यापी सूर्यविनायक चेस प्रतियोगिता–२०८३ आजदेखि सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा आयोजित उक्त प्रतियोगिता सूर्यविनायक नगरपालिकाको सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रवक्ता तथा सामाजिक विकास महाशाखाका संयोजक रविन्द्र सापकोटाले स्थानीय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले वार्षिक कार्यक्रमअन्तर्गत प्रत्येक महिनामा एक खेल प्रतियोगिता सञ्चालन गर्दै आएको बताए । ग्रासरुट फुटबल प्रशिक्षणदेखि विभिन्न खेल प्रतियोगितासम्म सञ्चालन गरी नगरपालिकाले खेलकुद विकास र खेलाडी उत्पादनमा योगदान पुर्याउँदै आएको उनको भनाइ थियो ।

उनले बुद्धिचाल खेलले मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्थानीयस्तरमा प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए ।
कार्यक्रममा सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य–सचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरका ६६ जना खेलाडी सहभागी रहेको जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले १५ हजार रुपैयाँ, दोस्रोले १० हजार रुपैयाँ, तेस्रोले ५ हजार रुपैयाँ तथा चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले जनही ३–३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । महिला तथा पुरुषतर्फ गरी कुल ६७ हजार ५०० रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
सदस्य–सचिव थापाका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।
उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य कमला पोखरेल, जिल्ला खेलकुद विकास समिति सदस्य अनन्त वैद्य, नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निराजन प्रजापति तथा भक्तपुर जिल्ला चेस संघका अध्यक्ष बद्री दुवाल लगायतको सहभागिता रहेको थियो ।