सबै दललाई समेटेर विकासमा केन्द्रीत चाँगुनारायण–७ का वडाअध्यक्ष नायजु

सबै दललाई समेटेर विकासमा केन्द्रीत चाँगुनारायण–७ का वडाअध्यक्ष नायजु

शुक्रवार, जेठ १५ २०८३
शुक्रवार, जेठ १५ २०८३
  • सबै दललाई समेटेर विकासमा केन्द्रीत चाँगुनारायण–७ का वडाअध्यक्ष नायजु

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ७ ले विकास निर्माण, सुशासन, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण तथा सार्वजनिक सेवामा उल्लेखनीय काम गर्दै उदाहरणीय वडा बन्ने प्रयास गरिरहेको स्थानीयवासीले बताएका छन् ।

    राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा बागेहिणी माध्यमिक विद्यालयमा सम्पन्न वडागत सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा स्थानीयवासीले वडाले पछिल्लो समय सकारात्मक ढंगले काम अघि बढाएको बताएका हुन् ।

    विशेषगरी वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठले आफूले पाउने पारिश्रमिक रकम विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको विषय कार्यक्रममा निकै प्रशंसित बन्यो । स्थानीयवासीले जनप्रतिनिधिको यस्तो कार्यले शिक्षा क्षेत्रप्रति जिम्मेवार नेतृत्वको सन्देश दिएको बताए ।

    2368f737-eed2-4d55-8158-30557824ac8e.jfif

    राप्रपाबाट निर्वाचित भएपनि वडाध्यक्ष श्रेष्ठले सबै राजनीतिक दल, टोल विकास संस्था र स्थानीय समुदायलाई साथमा लिएर विकास निर्माणका काम अघि बढाएको भन्दै सहभागीहरूले खुलेर प्रशंसा गरे । कार्यक्रममा बोल्ने अधिकांश स्थानीयवासीले वडा कार्यालयबाट प्रवाह हुने सेवामा गुनासो नरहेको उल्लेख गर्दै कर्मचारी र जनप्रतिनिधिको व्यवहारप्रति सन्तुष्टि व्यक्त गरेका थिए ।

    वडाले सबै टोल–बस्तीमा नक्सासहितको जानकारी बोर्ड राखेको कुरामा जनताले प्रसंसा गरे । चाँगुनारायण नगरपालिकाभित्र यस्तो कार्य सुरु गर्ने वडा नं। ७ पहिलो वडा बनेको छ । यसले स्थानीयलाई भौगोलिक जानकारी, विकास योजना र सार्वजनिक संरचनाबारे बुझ्न सहज भएको छ । 

    वडाध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण संरक्षण र सुशासनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए । उनले “एक घर, एक धारा” अभियानमार्फत खानेपानी व्यवस्थापनलाई विस्तार गरिएको जानकारी दिए । बागेश्वरी खानेपानी आयोजनाबाट करिब ४ सय घरपरिवार लाभान्वित भइरहेको तथा अन्य टोलका खानेपानी आयोजना पनि व्यवस्थित गरिँदै लगिएको उनको भनाइ थियो ।

    श्रेष्ठले सडक बत्ती, सीसी क्यामेरा, सार्वजनिक सुरक्षा तथा दुर्घटना न्यूनीकरणमा समेत वडा सक्रिय रहेको बताए । उनले सम्पदा संरक्षणलाई प्राथमिकतामा राख्दै पहिचान झल्किने विकास गरिरहेको उल्लेख गरे ।

    तीन वटा विद्यालय घटुवा भएको विषयमा आफू दुःखी रहेको बताउँदै उनले ती विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे । विपन्नदेखि सम्पन्न परिवारका बालबालिकाले सामुदायिक विद्यालयमै अध्ययन गर्ने वातावरण बनाउने उनको भनाइ थियो ।

    01fca679-8126-4d95-9ad5-c5611c3f5fc8.jfif

    कार्यक्रममा वडा सचिव पुष्पराम लिवीले चालु आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्दै वडामा ८८ वटा योजना स्वीकृत भएको, ७८ वटा योजनाको सम्झौता सम्पन्न भएको तथा ५८ वटा योजना सम्पन्न भइसकेको जानकारी दिए । पाँच वटा योजना निर्माणको चरणमा रहेको र वडाले एक करोड चार लाखभन्दा बढी राजस्व संकलन गरेको पनि उनले बताए ।

    स्थानीय लक्ष्मणप्रसाद लामिछानेले अपेक्षाअनुसार सबै काम हुन नसकेपनि सेवा प्रवाह राम्रो रहेको बताए । उनले धार्मिक सम्पदाको संरक्षण तथा सिँचाइ आयोजनालाई प्राथमिकता दिन सुझाव दिए ।

    हरिशरण लामिछानेले वातावरण संरक्षण र सरसफाइमा वडा सक्रिय रहेको उल्लेख गर्दै स्थानीय पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए । राजकुमार दोङले सरसफाइ अभियान निरन्तर सञ्चालन गर्नुपर्ने धारणा राखे भने बाबुराजा लामिछानेले दिगो विकास र एकीकृत योजनामा जोड दिए ।

    कार्यक्रममा बागेश्वरी स्वास्थ्यचौकीका प्रमुख श्याम श्रेष्ठले स्वास्थ्यचौकीबाट नियमित सेवा प्रवाह भइरहेको जानकारी दिँदै उपचार र औषधि व्यवस्थापनमा सुधार भइरहेको बताए ।

    कार्यक्रममा स्थानीयवासीले सडक, खानेपानी, फोहोर व्यवस्थापन, शिक्षा, खेलकुद, सार्वजनिक जग्गा संरक्षण तथा वातावरण संरक्षणका विषयमा सुझाव दिएका थिए । वडाध्यक्ष श्रेष्ठले प्राप्त सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक सुधार र कार्यान्वयनमा वडा प्रतिबद्ध रहेको बताए ।

    कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा, पुष्करराज बुढाथोकीको संयोजन र हेमराज ढकालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij