चाँगु–८ को सार्वजनिक सुनुवाईमा जनताको विश्वास – ‘सीमित स्रोतमा पनि धेरै काम भयो’

चाँगु–८ को सार्वजनिक सुनुवाईमा जनताको विश्वास – ‘सीमित स्रोतमा पनि धेरै काम भयो’

बिहिवार, जेठ १४ २०८३
बिहिवार, जेठ १४ २०८३
  • चाँगु–८ को सार्वजनिक सुनुवाईमा जनताको विश्वास – ‘सीमित स्रोतमा पनि धेरै काम भयो’

    भक्तपुर  । चाँगुनारायण नगरपालिका वडा नं। ८ मा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम जनताको सक्रिय सहभागिता, तीखा प्रश्न, रचनात्मक सुझाव र जनप्रतिनिधिप्रतिको विश्वासले विशेष अर्थपूर्ण बनेको छ ।

    राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडा नं। ८ स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा स्थानीयवासीले विकास, सुशासन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, कृषि, सामाजिक सुरक्षा, खानेपानी तथा सार्वजनिक सम्पत्तिको संरक्षणलगायत विविध विषयमा खुलेर धारणा राखेका थिए । कार्यक्रममा जनप्रतिनिधि र स्थानीयबीच प्रत्यक्ष संवाद हुँदा वडाको वर्तमान अवस्था, चुनौती, उपलब्धि र भावी योजनाबारे विस्तृत छलफल भएको थियो ।

    fff.jpeg

    कार्यक्रममा सहभागीहरूले जनताको चासो, गुनासो र समस्यासँगै समाधानका उपाय तथा दीर्घकालीन विकास योजनाबारे सुझाव दिएका थिए । स्थानीय सरकार जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको निकाय भएकाले नागरिकको आवश्यकता, अपेक्षा र चाहनाअनुसार कार्यसम्पादन हुनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूले चार वर्षको कार्यकालको समीक्षा गर्दै असल अभ्यास, चुनौती तथा आगामी योजनाका विषयमा धारणा राखेका थिए ।

    cc.jpeg

    कार्यक्रममा वडा सचिव राजकुमार गिरीले वडामा भएका प्रशासनिक, सामाजिक तथा भौतिक विकाससम्बन्धी गतिविधिको विस्तृत विवरण प्रस्तुत गरे । उनका अनुसार चालु आर्थिक वर्षमा वडामा ११९ वटा योजना स्वीकृत भएका छन् भने ७२० जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । चालु आर्थिक वर्षमा एक करोड ६० लाख ७६ हजार ७ सय ४५ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिँदै उनले युवा, महिला, अपाङ्गता भएका व्यक्ति, बालविवाह न्यूनीकरण, जेष्ठ नागरिक तथा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेको बताए । 

    fffff.jpeg

    सचिव गिरीले जेष्ठ नागरिकका लागि धार्मिक तथा सांस्कृतिक भ्रमण, डिजिटल अभिमुखीकरण, जनचेतनामूलक सडक नाटक तथा सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । 

    कार्यक्रममा सहभागी स्थानीयवासीले वर्तमान जनप्रतिनिधि ‘धन्यवादको पात्र’ बनेको उल्लेख गर्दै सीमित स्रोत र साधनका बीच पनि न्यूनतम आवश्यकताहरू पूरा भएको बताए । अब दिगो विकास र समृद्धिको स्थायी आधार निर्माण गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

    eeeee.jpeg

    स्थानीयवासीले वडालाई शिक्षाको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना उत्कृष्ट रहेको भन्दै शिक्षक–शिक्षिकालाई उत्प्रेरणा कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय पुनर्विचार गर्न आग्रह गर्दै निजी विद्यालयलाई प्रोत्साहन गर्ने र सामुदायिक विद्यालयलाई कमजोर बनाउने खालका विभेदकारी नीति लागू गर्न नहुनेमा केन्द्र सरकारको समेत ध्यानाकर्षण गराइयो ।

    eee.jpeg

    सहभागीहरूले विद्यालयमा स्कुल बस सञ्चालन, व्यवहारिक शिक्षा, नैतिक शिक्षा अनिवार्य तथा शिक्षक सरुवामा पारदर्शिता कायम गर्न माग गरे । अपाङ्गता भएका व्यक्तिका लागि शिक्षा सुनिश्चित गर्न विशेष बजेट र कार्यक्रम ल्याउनुपर्ने तथा वृद्धभत्ता घर–घरमै वितरण गर्ने व्यवस्था गर्न आग्रह गरिएको थियो ।

    स्थानीयवासीले खोलामा प्लास्टिक तथा फोहोर फालिँदा वातावरण प्रदूषण बनेको भन्दै सफा र स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकारप्रति वडा संवेदनशील हुनुपर्ने बताएका थिए । फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन फोहोर संकलन सदस्यता अनिवार्य गर्नुपर्ने पनि सुझाव दिइयो ।

    ee.jpeg

    त्यस्तै, भ्लगर तथा सवारीसाधनका आवाजका कारण ध्वनि प्रदूषण बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै टनेल खेतीमा अत्यधिक विषादी प्रयोग भइरहेकाले त्यसलाई समयमै नियन्त्रण गर्नुपर्ने माग गरिएको थियो ।

    कार्यक्रममा करिब १० हजार जनसंख्या रहेको वडामा झण्डै ८ हजार रोपनी सार्वजनिक जग्गा रहेको जानकारी प्रस्तुत गर्दै त्यसको संरक्षण, सीमांकन र व्यवस्थापनका लागि तीनवटै तहका सरकारबीच समन्वय गर्नुपर्नेमा जोड दिइयो । वर्षौंदेखि सडकका रूपमा प्रयोग भइरहेका जग्गाको लगत कट्टा गरी नागरिकलाई करको बोझबाट मुक्त गराउनुपर्ने तथा अव्यवस्थित प्लानिङका कारण सार्वजनिक तथा सडक क्षेत्र मिचिएको गुनासो पनि स्थानीयले गरे ।

    dddd.jpeg

    नगरपालिकालाई योगमैत्री नगर घोषणा गरिसकेको अवस्थामा योग अभ्यासका लागि हल र बजेट व्यवस्थापन गर्नुपर्ने, पुरातात्विक सम्पदा, मठमन्दिर, पाटीपौवा र ढुंगेधाराको संरक्षणका लागि दीर्घकालीन गुरुयोजना ल्याउनुपर्ने सुझाव दिइयो । कृषिका लागि मल व्यवस्थापन, सडक स्तरोन्नति, पुल निर्माण, खेलमैदान तथा फुटसल व्यवस्थापन, निःशुल्क एम्बुलेन्स सेवा, ट्राफिक व्यवस्थापन र इट्टा भट्टाबाट हुने प्रदूषण नियन्त्रणका विषयमा पनि स्थानीयले आवाज उठाएका थिए ।

    कार्यक्रममा प्रहरी प्रभाव सुडालका प्रमुख दिपक श्रेष्ठले बालकुमारी–जितपुर सडकमा तीव्र गति र ध्वनि प्रदूषण नियन्त्रणका लागि प्रहरी सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे । उनले स्थानीय नागरिकलाई समेत सडक अनुशासन पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि घर–घरमा सिसी क्यामेरा जडान गर्न सुझाव दिए । 

    ddddd.jpeg

    वडा सदस्य प्रल्हाद दुलालले विकास निर्माणमा जनसहभागिता सबैभन्दा महत्वपूर्ण हुने बताउँदै फोहोर व्यवस्थापनमा नागरिक स्वयं जिम्मेवार हुनुपर्नेमा जोड दिए । “हामीलाई स्थानीयले घच्घच्याउनुपर्छ, जागरुक बनाइराख्नुपर्छ,” उनले भने । 

    अर्का वडा सदस्य हरिगोपाल श्रेष्ठले जनताको मूल्याङ्कन नै जनप्रतिनिधिको उपलब्धि भएको उल्लेख गर्दै विकास निर्माणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय अनिवार्य रहेको बताए । अर्की वडा सदस्य अनिता परियारले सार्वजनिक सुनुवाईले जनप्रतिनिधिको ‘आँखा खोल्ने’ काम गर्ने बताउँदै महिला, युवा र जेष्ठ नागरिकलाई आत्मनिर्भर बनाउने खालका व्यवहारिक तालिम अझ विस्तार गर्नुपर्ने धारणा राख्रखिन् । 

    कार्यक्रममा वडाध्यक्ष जनक खत्रीले निर्वाचनताका गरेका प्रतिबद्धताअनुसार नै कार्यसम्पादन भइरहेको दाबी गरे । उनले शिक्षा, स्वास्थ्य, सडक, फोहोर व्यवस्थापन तथा सामाजिक विकासका कामलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । 

    उनका अनुसार ९ करोड रुपैयाँको लागतमा ताथलीदेखि सुडालसम्म फास्ट ट्र्याक सडक निर्माण भएको छ भने चार वर्षको अवधिमा १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको छ । थप ५ किलोमिटर सडक निर्माण प्रक्रियामा रहेको जानकारी पनि उनले दिए । 

    cccc.jpeg

    जीतपुर–सुडाल खानेपानी आयोजनामार्फत २२ सय घरपरिवारलाई खानेपानी वितरण भइरहेको उल्लेख गर्दै डिप बोरिङमार्फत पनि पानी आपूर्ति गरिएको उनले जानकारी दिए । बोजेनी ड्यामको पानी भविष्यमा प्रशोधन गरेर खानेपानीका रूपमा वितरण गर्ने योजना रहेको जानकारी दिँदै उनले वडालाई ‘शिक्षाको हब’ बनाउने लक्ष्य रहेको स्पष्ट पारे । 

    फोहोर व्यवस्थापनमा अब कडाइ गरिने संकेत गर्दै उनले सार्वजनिक जग्गा अतिक्रमण रोक्न कानुनअनुसार कारबाही गरिने बताए । ‘सचेतनाले मात्र नपुग्ने अवस्था आएको छ, अब कारबाहीको डण्डा चलाउनुपर्ने बाध्यता बनेको छ,’ उनले भने । 

    योगका लागि सार्वजनिक हल निर्माण तथा बजेट व्यवस्थापन गर्ने, मापदण्डविपरीत पूर्वाधार निर्माणमा कारबाही गर्ने तथा सार्वजनिक भवनमा क्रमशः सिसी क्यामेरा जडान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । 

    dd.jpeg

    संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । सल्लाहकार दिवस गुरागाईंले विषय प्रवेश गराएको कार्यक्रममा सचिव हेमराज ढकालले सञ्चालन गरेका थिए । कार्यक्रममा ८० जनाभन्दा बढी स्थानीयवासीको सहभागिता रहेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij