भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ४ मा वडा स्तरीय सार्वजनिक सुनुवाइ तथा चारवर्षे प्रगति समीक्षा कार्यक्रम ११ जेष्ठमा सम्पन्न भएको छ । राष्ट्रिय संचार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिका को सहयोगमा वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा वडाको विकास निर्माण, सेवा प्रवाह, जनगुनासो, समस्या र समाधानका उपायबारे खुला छलफल गरिएको थियो ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, सामाजिक संघसंस्था तथा स्थानीयवासी गरी करिब छ दर्जन सहभागी थिए । कार्यक्रममा स्थानीयवासीले सडक, खानेपानी, यातायात, ढल, प्लानिङ, बालुवा उत्खनन्, सामाजिक सुरक्षा, अपाङ्गता लक्षित कार्यक्रम तथा मन्दिर क्षेत्र व्यवस्थापनलगायतका विषयमा खुलेर गुनासा र सुझाव प्रस्तुत गरेका थिए ।
त्यसपछि जनप्रतिनिधि तथा सम्बन्धित निकायले उठेका प्रश्नको जवाफ दिँदै वडाको विगत, वर्तमान र आगामी योजनाबारे धारणा राखेका थिए । वडा सचिव हरिगोपाल गैडाले चालु आर्थिक वर्षमा वडाले गरेका प्रशासनिक तथा वित्तीय गतिविधिको विवरण प्रस्तुत गर्दै विभिन्न शीर्षकमा एक करोड २४ लाख २८ हजार ३ सय ३७ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए ।
उनका अनुसार चालु आवमा दुई करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा एक करोड ६० लाख रुपैयाँ बराबरका योजना कार्यान्वयनमा रहेका छन् । जेष्ठ नागरिकका लागि आठ लाख, कार्यालय सञ्चालनका लागि १० लाख तथा खेलकुद क्षेत्रमा पाँच लाख बजेट छुट्याइएको जानकारी दिँदै उनले सामाजिक सुरक्षा भत्तातर्फ ५३ लाख ६५ हजार ९ सय ७८ रुपैयाँ वितरण गरिएको उल्लेख गरे ।

वडाध्यक्ष रोजबहादुर तामाङले चार वर्षको अवधिमा नगरपालिकाबाट २८ करोड, प्रदेश सरकारबाट ३० करोड तथा संघीय सरकारबाट नौ करोड रुपैयाँ बराबरको बजेट प्राप्त भई सडक, शिक्षा, खानेपानी, ढल, स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय विकास भएको बताए ।

‘सडक निर्माण, कालोपत्रे, शिक्षा, स्वास्थ्य, जेष्ठ नागरिक, युवा, महिला तथा खानेपानीका क्षेत्रमा स्थानीयको आवश्यकता अनुसार सेवा प्रवाह गरिरहेका छौं,’ उनले भने, “तर ठेकेदारको ढिलासुस्ती, अत्यधिक मूल्यवृद्धि, अव्यवस्थित प्लानिङ, बालुवा उत्खनन् तथा कानुनी जटिलताका कारण अपेक्षित गति लिन कठिनाइ भइरहेको छ ।’
स्थानीय केशव खनालले वर्षायाममा समेत बालुवा खानी सञ्चालन र अव्यवस्थित प्लानिङलाई अनुमति दिइएको विषयमा प्रश्न उठाउँदै कार्यकर्तामुखी बजेट ल्याइएको आरोप लगाए । जवाफमा वडाध्यक्ष तामाङले प्लानिङ तथा खानी सञ्चालन नगरपालिका अन्तर्गतको विषय भएको उल्लेख गर्दै बजेट जनतामैत्री ढंगले विनियोजन गरिएको दाबी गरे ।

त्यस्तै पुष्पराज खत्रीले डोल्छी पुल भत्काइएको कारण, सुकुम्बासी समस्या, खानेपानी अभाव तथा उपभोक्ता समितिमा राजनीतिक प्रभावबारे प्रश्न उठाए । उनले मेलम्ची खानेपानीलाई प्रभावकारी रूपमा वडामा वितरण गर्न माग गरे । जवाफमा वडाध्यक्ष तामाङले पुल र सडक निर्माण प्रक्रिया अघि बढिरहेको तथा खानेपानीलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए ।
स्थानीय रामकृष्ण पोखरेलले वर्षायामअघि सडकमा ग्राभेल गर्न, चाँगुनारायण मन्दिर क्षेत्रको सौन्दर्यीकरण गर्न तथा अपाङ्गता लक्षित कार्यक्रम ल्याउन माग गरे । सडक निर्माणमा ढिलाइ भए असार १५ भित्र सडकमा धान रोप्ने चेतावनीसमेत उनले दिए ।

देवेन्द्र बुढाथोकीले मुलपानी–चाँगुनारायण–तेलकोट सडक निर्माणमा विभेद भएको आरोप लगाउँदै सहायक सडकमा फरक–फरक मापदण्ड किन लागू गरिएको भनी प्रश्न गरे । वडाध्यक्ष तामाङले वडाको सीमित बजेटका कारण सबै क्षेत्रमा एकैपटक अपेक्षित काम गर्न नसकिएको स्पष्ट पारे ।
चाँगुनारायण मन्दिरका पुजारी चक्र धरानन्द राजोपाध्यायले मन्दिर क्षेत्रमा सुरक्षा तथा बत्ती व्यवस्थापन कमजोर भएको गुनासो गरे । जवाफमा प्रहरी प्रभावका प्रमुख राजकुमार बडालले सीमित जनशक्तिका बाबजुद २४सै घण्टा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिँदै आवश्यक समन्वय गर्न आग्रह गरे ।

स्थानीय जानुका रोकाहाले अपाङ्गता भएका बालबालिकाका लागि अध्ययन भ्रमण, तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्न माग गरिन् । वडाध्यक्ष तामाङले आगामी बजेटमा यसका लागि आवश्यक व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा सदस्य प्रदीप खनालले माथिल्लो क्षेत्रमा यातायात समस्या गम्भीर रहेको उल्लेख गर्दै जेष्ठ नागरिकको यातायात समस्यालाई प्राथमिकताका साथ समाधान गरिने बताए । साथै केही सडक आयोजनामा ठेकेदारसँग समन्वय गरी पुनः काम सुरु गरिएको जानकारी पनि उनले दिए ।

आयोजक संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गरेका थिए ।

