चाँगुनारायण वडा नं. २ मा विकास, सुशासन र जनचासोका विषयमा खुला बहस

चाँगुनारायण वडा नं. २ मा विकास, सुशासन र जनचासोका विषयमा खुला बहस

बिहिवार, जेठ ७ २०८३
बिहिवार, जेठ ७ २०८३
  • चाँगुनारायण वडा नं. २ मा विकास, सुशासन र जनचासोका विषयमा खुला बहस

    भक्तपुर । राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपाल को आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहकार्यमा वडा नं. २ मा सार्वजनिक सुनुवाइ तथा विकास निर्माणको प्रगति समीक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

    कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएपछि चार वर्षको अवधिमा भएका विकास निर्माण, सामाजिक विकास, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा प्रवाह, वातावरण संरक्षण तथा सुशासनका प्रयासबारे विस्तृत छलफल गरिएको थियो ।

    जनप्रतिनिधि र कर्मचारी प्रशासन जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै कार्यक्रममा नागरिकका अनुभव, सुझाव, समस्या तथा समाधानका उपायबारे खुला संवाद भएको थियो । आलोचनाभन्दा समाधानमुखी सोच, सहभागितामूलक विकास र दिगोपनामा केन्द्रित हुनुपर्ने धारणा सहभागीहरूले राखेका थिए ।

     

    569764a2-a625-4f06-bef8-670bd81a6d3b.jfif

    कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीयवासीबीच सहकार्यको आवश्यकता औंल्याउँदै विकास र समृद्धिका योजनामा नागरिकको सक्रिय सहभागिता, रचनात्मक प्रश्न तथा सुझावले स्थानीय तहको कार्यसम्पादन अझ प्रभावकारी र परिस्कृत बन्ने विश्वास व्यक्त गरिएको थियो ।

    “हाम्रो वडा, हाम्रो आवाज” भन्ने नारासहित आयोजित कार्यक्रममा नागरिकका गुनासा, जिज्ञासा र सुझावलाई प्रत्यक्ष रूपमा समेटिएको थियो । कार्यक्रमलाई औपचारिकतामा सीमित नराखी लोकतान्त्रिक अभ्यास, जनउत्तरदायित्व र समाधान खोज्ने साझा मञ्चका रूपमा अघि बढाइएको थियो । 

    c20cb123-a557-4070-89cb-1fb5999fa4f6.jfif

    वडा नं। २ का अध्यक्ष सोमप्रसाद प्रधानले चुनावी प्रतिबद्धताअनुसार भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, वातावरण संरक्षण र उज्यालो तथा समृद्ध वडा निर्माणका लागि काम भइरहेको बताएका थिए । उनले गाइजात्रा, नेपाल संवत् लगायत ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई सबै समुदायको साझा पर्वका रूपमा समावेशी ढंगले मनाउने अभ्यास सुरु गरिएको उल्लेख गरेका थिए ।

    उनले सरसफाइ अभियान १६० औं हप्तासम्म निरन्तर सञ्चालन गरिएको, निःशुल्क अक्सिजन सेवा, एम्बुलेन्स सञ्चालन तथा रगत अभावको समस्या न्यूनीकरणमा सफलता हासिल गरिएको बताएका थिए । साथै उनले वडा नं २ शून्य प्लास्टिक अभियानतर्फ अघि बढिरहेको, हाटबजार सञ्चालन तथा ज्येष्ठ नागरिकमैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिएका थिए ।

    कार्यक्रममा वडा सचिव राकेश बासुकलाले चालु आर्थिक वर्षमा ७८ वटा योजना सम्पन्न गरिएको जानकारी दिएका थिए । कर्मचारी अभावका कारण अपेक्षाअनुसार काम गर्न कठिनाइ भएको उल्लेख गर्दै उनले चालु आवमा दुई करोड १८ लाख ५९ हजार ९ सय ४६ रुपैयाँ राजस्व संकलन भएको बताएका थिए । 

    ba0ae7a2-3b2a-4525-8095-4be0f90176f3.jfif
    उनका अनुसार चालु वर्षमा ५४ जन्मदर्ता, ९ मृत्युदर्ता, ३८ विवाहदर्ता, ८० बसाइँसराइ, ४ सम्बन्धविच्छेद तथा ४ हजार ६ सय ५५ वटा विभिन्न सिफारिस सेवा प्रदान गरिएको थियो ।

    कार्यक्रममा सहभागी स्थानीयवासीले शिक्षा, स्वास्थ्य, इट्टाभट्टा, सडक, खानेपानी, पुस्तकालय, खेलमैदान, सडक सुरक्षालगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए । गिट्टी–बालुवा सडकमा राख्दा दुर्घटनाको जोखिम बढेको, बाढी–पहिरो तथा डुबान समस्या, सडक बत्ती, सीसी क्यामेरा, बजेट फिर्ता हुने अवस्था, डिजिटलमैत्री सडक, योगमैत्री वडा, मेलम्ची खानेपानी, सार्वजनिक यातायात, विद्यालय अनुगमन, मल अभाव, सहकारी समस्या, सार्वजनिक सम्पत्ति संरक्षण, छात्रवृत्ति वितरणमा पहुँचको प्रभाव तथा वातावरणीय प्रदूषणजस्ता विषय उठाइएको थियो ।

    प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रधानले फोहोर व्यवस्थापनमा नेप्सेम्याक सेवा प्रालिको सहकार्य प्रभावकारी भएको बताएका थिए । तिलगंगा आँखा अस्पतालको शाखा सेवा चाँडै सञ्चालन गर्ने तयारी भइरहेको पनि जानकारी दिएका थिए ।

    विकास निर्माणमा कतिपय ढिलाइ भएको स्वीकार गर्दै उनले टेन्डर प्रक्रिया, नीतिगत जटिलता र मूल्यवृद्धिका कारण केही आयोजना प्रभावित भएको बताएका थिए । मेलम्ची खानेपानीको पाइप विस्तारका लागि पहल भइरहेको तथा सडकमा गिट्टी–बालुवा राखेर समस्या सिर्जना गर्नेहरूमाथि नगरप्रहरीमार्फत कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    खेलमैदान र कवर्डहल निर्माण प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले वडालाई शिक्षा र स्वास्थ्यको हब बनाउने लक्ष्यसहित काम भइरहेको बताएका थिए । सार्वजनिक जग्गा कब्जा गर्ने वा प्लानिङको नाममा दुरुपयोग गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिँदै स्थानीयवासीलाई सूचना दिन आग्रह गरेका थिए ।

    आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्र (एनएमसी) नेपाल का अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज ढकालले गरेका थिए भने उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए ।

    8e0279d1-3d75-4018-99c0-207754dc6f74.jfif

    01964b54-c8a4-4491-aa37-f10b2d34aab2.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij