भक्तपुर । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८३’ को उपाधि पाण्डुबजार एफसीले जितेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा हेल्दी फुटसललाई ट्राइब्रेकरमा २–१ गोलअन्तरले पराजित गर्दै पाण्डुबजार एफसी च्याम्पियन बनेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।
प्रतियोगितामा भविष्य फाउन्डेसनले सूर्यविनायक–१ लाई ६–२ गोलले हराउँदै तेस्रो स्थान हासिल गर्यो भने सूर्यविनायक–१ सान्त्वनामा सीमित बन्यो ।

प्रतियोगिताको विजेता टोली पाण्डुबजार एफसीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता टोलीले ३० हजार, तेस्रो हुने टोलीले २० हजार तथा सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी निर्विक थापा, उत्कृष्ट गोलकिपर सबिन जोशी श्रेष्ठ तथा सर्वाधिक गोलकर्ता विवेक कवाङ घोषित भए । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाले शिल्ड, पदक तथा नगद पुरस्कार वितरण गरेका थिए । सो अवसरमा राष्ट्रिय फुटसल खेलाडी अन्जली मचामसीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालिकामा खेलकुद विकास समिति गठन भएपछि खेलकुद गतिविधि बढेको बताए । आगामी वर्ष विभिन्न खेलका प्रशिक्षण कार्यक्रम सञ्चालन गरी खेलकुद क्षेत्रलाई थप सक्रिय बनाइने उनले बताए ।

सूर्यविनायक नगरपालिका र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सूर्यविनायक–८ स्थित हेल्दी फुटसलमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न क्लबका २५ टोलीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिए ।
समापन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानोकाजी कायस्थ, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
