भक्तपुर । युवापुस्तालाई खेलमार्फत अनुशासित, सक्रिय र सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यसहित सूर्यविनायक नगरपालिकाले आयोजना गरेको ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुटसल प्रतियोगिता–२०८३’ सुरु भएको छ ।
सूर्यविनायक नगरपालिका र नगर खेलकुद विकास समितिको व्यवस्थापनमा सूर्यविनायक–८ स्थित हेल्दी फुटसलमा सञ्चालन भइरहेको प्रतियोगिता वैशाख २४ गतेदेखि २६ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्लाका विभिन्न क्लबका २५ भन्दा बढी टोली सहभागी भएका छन् ।

प्रतियोगिताको उद्घाटन नगर उपप्रमुख सरिता तिम्सिना ९भट्टराई० ले गरेकी हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुखले खेल क्षेत्रले युवापुस्ता तथा बालबालिकालाई अनुशासित, स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने बताईन् । नगरपालिकाले खेलकुदको विकासमार्फत सामाजिक सद्भाव, मानवीय विकास र स्वस्थ समाज निर्माणका लागि निरन्तर काम गरिरहेको उल्लेख गर्दै उनले सहभागी सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना दिईन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार रुपैयाँ, दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्ता खेलाडीलाई पनि जनही १० हजार रुपैयाँले सम्मान गरिनेछ ।

फुटसल पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको तीव्र गतिमा खेलिने खेल हो । सीमित स्थानमा पाँच–पाँच खेलाडीबीच खेलिने यस खेलले खेलाडीमा छिटो निर्णय क्षमता, सहकार्य, अनुशासन, समन्वय र शारीरिक तन्दुरुस्ती विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
नगरपालिकाले यस्ता प्रतियोगितामार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै जिम्मेवार, सिर्जनशील र स्वस्थ नागरिक निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ ।