भक्तपुर । विश्व रेडक्रस दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले ‘स्वस्थ बुढ्यौलीका लागि सहारा परियोजना’ सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत जेष्ठ नागरिकको स्वास्थ्य, सक्रियता र सम्मानित जीवनयापनका लागि सञ्चालन भइरहेका गतिविधिबारे जानकारी गराइएको हो ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाद्वारा सञ्चालित ‘सहारा परियोजना’ हाल भक्तपुरका चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा लागू गरिएको छ । दुई वर्षअघि चाँगुनारायणबाट सुरु भएको परियोजना प्रभावकारी बनेपछि गत वर्षदेखि सूर्यविनायक नगरपालिकामा समेत विस्तार गरिएको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति पर्शुराम पाण्डेले बताए ।

परियोजनाको मुख्य उद्देश्य जेष्ठ नागरिकमैत्री वातावरण निर्माण गर्दै उनीहरूको स्वास्थ्य र सामाजिक सहभागिता अभिवृद्धि गर्नु रहेको सभापति पाण्डेको भनाई छ । पत्रकारहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै सभापति पाण्डेले विश्व रेडक्रस दिवस विशेष महत्वको दिन भएको बताउँदै आजकै दिन रेडक्रसका संस्थापकको जन्मदिन समेत पर्ने भएकाले दिवसलाई विशेष रूपमा स्मरण गर्न आजको कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाकी कार्यालय प्रमुख उमा थापाले विस्तृत प्रस्तुति दिँदै जेष्ठ नागरिकका लागि सञ्चालन गरिएका गतिविधिहरू सार्वजनिक गरिन् । उनले जेष्ठ नागरिक मिलन चौतारी कार्यक्रम लोकप्रिय बन्दै गएको जानकारी दिँदै टोल–टोलमा समिति गठन गरी जेष्ठ नागरिकलाई दिनभरि सामुदायिक गतिविधिमा सहभागी गराउने गरिएको बताइन् ।

चौतारीमा भजन–कीर्तन, योग, ध्यान, खेलकुद, नाचगान, सामूहिक खाजा, अनुभव आदानप्रदान, सम्मान कार्यक्रम तथा बिहानको हिँडाइ जस्ता गतिविधि सञ्चालन हुँदै आएको प्रमुख थापाको भनाई छ । उनका अनुसार जेष्ठ नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यले धूप बनाउने तालिम सञ्चालन गरिएको छ भने डिजिटल साक्षरता कार्यक्रममार्फत मोबाइल र इन्टरनेट चलाउन समेत सिकाइँदै आएको छ ।
परियोजनाअन्तर्गत स्वास्थ्य शिविर, नियमित स्वास्थ्य परीक्षण, औषधि वितरण तथा आवश्यक शल्यक्रियामा सहयोगसमेत भइरहेको छ । भक्तपुर अस्पतालमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइएको शाखाका मन्त्री धर्म कार्कीले बताए । मन्त्री कार्कीका अनुसार सहारा परियोजनामा हालसम्म १४ हजार ३ सय ९७ जना लाभान्वित भएका छन् भने ५ हजार ८ सयभन्दा बढी जेष्ठ नागरिकलाई बिमामा आबद्ध गरिएको छ ।
चाँगुनारायणका ९२ वटा सामुदायिक भवन जेष्ठ नागरिकमैत्री बनाइएको छ भने सबै वडामा जेष्ठ नागरिक मिलन चौतारी स्थापना गरिएको छ । परियोजनाअन्तर्गत ३१ जना स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यलगायतका विषयमा तालिम दिइएको जानकारी पनि कार्यक्रममा दिइयो ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका अनुसार जेष्ठ नागरिकले यातायात तथा सामाजिक सेवामा पाउनुपर्ने सहुलियत व्यवहारमा कार्यान्वयन नभएको गुनासो बढेपछि यातायात व्यवसायी, ट्राफिक प्रहरी र स्थानीय तहबीच अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ । बुढ्यौलीमैत्री घर निर्माण र सार्वजनिक संरचना सुधारमा समेत परियोजनाले प्रेरित गरिरहेको बताइएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय स्वास्थ्य सेवा विभागका राजु राउतले बुढ्यौलीसँगै आउने शारीरिक, मानसिक तथा सामाजिक समस्याबारे प्रस्तुति दिएका थिए । उनले नेपालीहरूको औसत आयु बढ्दै गएको अवस्थामा जेष्ठ नागरिक लक्षित योजना अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याए ।
पछिल्लो समय परिवारभित्र संवाद घट्दै जाँदा धेरै जेष्ठ नागरिक एक्लोपनको समस्याबाट गुज्रिरहेको उनको भनाइ थियो । २०२५ सालमा स्थापना भएको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखामा हाल १५ हजार ५ सय ६६ सदस्य आबद्ध रहेका छन् भने २४ उपशाखा, जुनियर तथा युवा रेडक्रस सर्कल सक्रिय रहेका छन् ।
शाखाले रक्तसञ्चार सेवा, विपद् व्यवस्थापन, एम्बुलेन्स सेवा तथा राहत वितरणका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ । ‘रगत नपाए भक्तपुर जानू’ भन्ने भनाइ काठमाडौं उपत्यकामा प्रचलित हुनु नै भक्तपुर रेडक्रसको सेवाप्रतिको विश्वासको उदाहरण भएको रेडक्रस सभापति पाण्डेको भनाई छ ।