भक्तपुर । वागमति प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगरले वागमति प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्य चौकीसम्मलाई विशेषज्ञ सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै थापाले सो कुरा बताएका हुन् ।
स्वास्थ्य चौकीहरुमा समेत आधारभूतदेखि विशेषज्ञ सेवासम्म विस्तार गर्ने बताउदै मन्त्री थापाले
स्वास्थ्य मन्त्रालयले सुगममा मात्रै नभई जिल्ला जिल्लाको दुर्गम क्षेत्रमा पनि प्रबिधिसंगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्य बिस्तार गरेको बताए ।
उनले प्रदेश स्वास्थ्य मन्त्रालयले उक्त भवन निर्माणका लागि गत वर्ष १८ लाख र यस वर्ष रु. २५ लाख गरि कूल रु. ४३ लाखको बजेटको व्यबस्था गरेको बताउदै वागमति प्रदेश भरिका स्वास्थ्य संस्थाहरुको भवन निर्माणदेखि स्तरोन्नती, गणस्तरीय विशेषज्ञ सेवा बिस्तार र निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै आएको बताए ।

स्वस्थ नागरिक नै समृद्ध समाजको आधार हुन् भन्दै उनले तीन वटै तहका सरकार मिलेर सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु आवश्यक रहेको आल्याए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको स्वास्थ्य प्रति नगरपालिका सधै चिन्तामा रहेर सहयोग गर्दै आएके बताउदै स्वास्थ्य जस्तो सम्वेदनशिल विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरेर स्वास्थ्य केन्द्रीत बजेटमा बिस्तार गर्दै आएको बताए ।
उनले नगरपालिकाले यस स्वास्थ्यचौकी निर्माणका लागि १० लाख रुपैया अनुदान दिएको बताउदै सुर्यविनायक नगरपालिकाले अब बिकासका धेरै काम सम्पन्न गरिसकेकाले शिक्षा,स्वासथ्य र रोजगारी केन्द्रीत कार्यक्रममा बजेट खर्च गर्ने नीति लिएको बताए । नगरपालिकाले जनशक्तिदेखि प्रबिधि सम्मको बिस्तार गर्दै आमनागरिकको दैलोमै स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताए ।

नगरपालिकाका उप–प्रमुख, सरिता तिमिल्सिना भटटराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटो छरितो सेवा लिन सक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोग सम्बन्धि जाच अब निशुल्क गर्ने बताए ।
कार्यक्रममा सिपाडोल वडा नं. ८ का वडा अध्यक्ष, पुष्पराज बस्नेतले धेै वर्ष जीर्ण भवनमा सेवा दिदै आएकोमा अब नयाँ भवनबाट सबै सेवा सुचारु भएको बताउदै यसले स्थानीयवासीमा ठूलो टेवा पुगेको बताए । उनले सामान्य रागका लागि स्वास्थ्य चौकीबाटै गुणस्तरीय सेवा प्रवाह हुने बताए ।