भक्तपुर । राष्ट्रका लागि २ घण्टा अभियानले भक्तपुरबाट संघीय सांसदमा निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ । आठ वर्षदेखि सरसफाइ, वातावरण संरक्षण लगायतका कार्य गर्दै आएको उक्त अभियानले भक्तपुरबाट निर्वाचित छ जना सांसदलाई सम्मान गरेको हो ।
अभियानका अध्यक्ष मधु ढुंगेलका अनुसार, वातावरणीय स्वच्छताको दायित्वबोध गराउँदै निर्वाचित सांसदहरूको सफल कार्यकालको शुभकामना व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै भक्तपुर–२ बाट निर्वाचित सांसद राजिव खत्रीले भने, “तपाईंहरू वातावरण संरक्षण र सरसफाइमा लाग्नुस्, हामी पनि राजनीतिक सरसफाइमा लाग्छौँ । सबैजना मिलेर देशलाई नै सफा बनाऔँ ।” उनले सरसफाइ र वातावरण संरक्षणको यस अभियानमा सबैको सहभागिता आवश्यक रहेको बताए ।
इटाभट्टाका कारण भक्तपुर क्षेत्रमा बढी वातावरण प्रदूषण भएकोतर्फ सरकारको ध्यान गएको सांसद खत्रीले बताए । जथाभावी डोजर प्रयोग गरेर विकास गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले सार्वजनिक जग्गा संरक्षणमा जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।

समानुपातिक सांसद मदनकृष्ण श्रेष्ठले २०७४ फागुन १९ गतेबाट सुरु भएको अभियानले उत्कृष्ट काम गरेको बताए । उनले राजनीतिमा प्रदूषण बढेकै कारण नयाँ पार्टीहरूले बहुमत पाएको टिप्पणी गर्दै सरकारले राम्रो काम गरे कांग्रेसले सहयोग गर्ने बताए ।
समानुपातिक सांसद कुसुम महर्जनले “एक घर, एक सदस्य” अभियानमा जोड्न सके यसलाई अझ प्रभावकारी बनाउन सकिने बताइन् ।
अर्का सांसद गुरु बरालले अभियान सार्थक रूपमा अघि बढिरहेको उल्लेख गर्दै यसले वातावरण संरक्षण, शैक्षिक चेतना र जनजागरण बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

अभियानका अध्यक्ष मधु ढुंगेलले अभियानमार्फत तीन प्रमुख क्षेत्रमा काम भइरहेको जानकारी दिए । उनका अनुसार सडकमा फलामका डस्टबिन राखिएको छ भने वातावरण संरक्षण, सडक सुरक्षा र सौन्दर्यकरणका क्षेत्रमा कार्य भइरहेको छ ।
राधेराधे क्षेत्रमा बस स्टप नहुँदा दुर्घटना र जाम हुने समस्या रहेको उल्लेख गर्दै उनले अभियानमार्फत बाल पेन्टिङ कार्यक्रम र हरियाली प्रवर्द्धनका लागि पाँच हजार बिरुवा रोपिएको जानकारी दिए ।

राष्ट्रका लागि २ घण्टा अभियानका उपाध्यक्ष नरेश रन्जितले अभियान दुई सय हप्ताभन्दा बढी समयदेखि सञ्चालनमा रहेको बताए । उनले उपत्यकाको प्रदूषण घटाउन र स्वच्छता बढाउन अभियान महत्त्वपूर्ण रहेको बताए । उनका अनुसार हालसम्म दुई लाखभन्दा बढीले श्रमदान गरिसकेका छन् । साथै, ट्राफिक प्रहरीसँगको सहकार्यमा बिना लगानी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा भक्तपुरबाट निर्वाचित सांसद रूकेश रन्जित लगायतको सहभागिता रहेको थियो ।