भक्तपुर । सुख्खा याम शुरू भएसंगै वन डढेलोको जोखिम बढ्न थालेको छ। डिभिजन वन कार्यालय भक्तपुरकी प्रमुख श्रद्धा सिग्देलले अन्य महिनाको तुलनामा फागनुदेखि जेठसम्म वन डढेलोको जोखिम अत्यधिक हुने बताइन् ।
प्रमुख सिग्देलका अनुसार आगलागी हुनका लागि आगोको स्रोत, इन्धन र अक्सिजन आवश्यक पर्छ, जसलाई ‘फायर ट्रायाङ्गल’ भनिन्छ। यी तीन तत्वको संयोजन हुँदा वन डढेलो सजिलै फैलिन सक्ने भएकाले विशेष सावधानी अपनाउनु जरूरी छ ।

डढेलो नियन्त्रणकालागि सप्ताहब्यापी सचेतनामुलक कार्यक्रमको अवसरमा कार्यालय प्रमुख सिग्देलले सो कुरा बताएकी हुन् । वन डढेलो व्यवस्थापनका लागि तीन प्रमुख चरण रहने उनले स्पष्ट पारिन् । पहिलो, पूर्वतयारी चरण जसमा जोखिम न्यूनीकरणका उपायहरू अपनाइन्छन् ।
दोस्रो, प्रतिकार्य वा नियन्त्रण चरण, जहाँ लागेको आगो निभाउने काम गरिन्छ । तेस्रो, पुनःउत्थान चरण, जसमा प्रभावित वन क्षेत्रको पुनस्र्थापना गरिन्छ । ‘रोग लागेपछि उपचारभन्दा पहिले नै रोकथाम गर्नु उत्तम हुन्छ,’ भन्ने सन्देश उनले दिइन् । वन डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालय भक्तपुरले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
सचेतना र्याली, विद्यालयस्तरीय कार्यक्रम, स्थानीय एफएममार्फत जनचेतनामूलक सन्देश प्रसारण, हरित स्वयंसेवक परिचालनजस्ता गतिविधिहरू सञ्चालन भइरहेका छन् । साथै, वन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल लगायत निकायसँग समन्वय गरी फोकल पर्सन तोकिएको छ ।

छिटो प्रतिक्रिया दिने टोली ९र्यापिड रेस्पोन्स टिम० गठन गरिएको छ भने अग्निरेखा निर्माण र वन उद्यम सञ्चालनमार्फत इन्धनको मात्रा घटाउने कामसमेत भइरहेको सिग्देलले जानकारी दिइन् । कानुनी रूपमा वनमा डढेलो लगाउने व्यक्तिलाई कडा कारबाहीको व्यवस्था रहेको छ । वन ऐनअनुसार क्षतिको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान रहेको सिग्देलको भनाइ छ ।
वन डढेलो लागेको थाहा पाएमा ढिला नगरी सामुदायिक वन समूह, वन कार्यालय, नजिकको प्रहरी कार्यालय वा स्थानीय तहमा तुरुन्त जानकारी दिन डिभिजन वन कार्यालय भक्तपुरले आग्रह गरेको छ । सूचना प्राप्त हुनासाथ र्यापिड रेस्पोन्स टिमले आगो नियन्त्रणमा लिने काम गर्ने जनाइएको छ ।

वन डढेलो नियन्त्रणमा सरकारी निकाय मात्र नभई आम नागरिकको सचेतना र सहभागिता पनि उत्तिकै महत्वपूर्ण रहेको प्रमुख सिग्देलको भनाइ छ । ‘वन डढेलो नियन्त्रण सचेतना कार्यक्रम’ चैत १ देखि सुरु भएर ७ गतेसम्म सञ्चालन हुनेछ । सोहि क्रममा कार्यालयले बिभिन्न सामुदायिक वन उपभोक्ता समुहलाई अग्नि नियन्त्रण सामग्री समेत बितरण गरेको छ ।