भक्तपुर । भक्तपुरमा बिहिवार सम्पन्न निर्वाचनमा ७१.४६% मतदान भएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार, जिल्लाका दुई निर्वाचन क्षेत्रका सबै २३३ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
मतदान केन्द्रबाट मतपेटिका साँझ ७:३० वजे मतगणना स्थल खरिपाटी र बाडेमा ल्याइएको छ । सबै मतपेटिका मुचुल्का बनाएर बुझाउँदा नौ बज्ने बताइएको छ ।
मतपेटिका बुझाउने काम सम्पन्न भएपछि सर्वदलीय वैठक बसेर मतगणना शुरू गर्न रातिको १०(११ बज्न सक्ने जनाइएको छ । भक्तपुरका दुईवटा क्षेत्रमा गरि कूल १ लाख ४६ हजार ७ सय ९४ जनाले मतदान गरेका छन् ।
जिल्लामा मतदान गर्नेमा पुरूषको तुलनामा महिला बढी रहेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी शुरेस आचार्यका अनुसार, जिल्लामा ७३ हजार ९ सय ६५ महिलाले मतदान गरेका छन् । त्यसैगरी मतदान गर्ने पुरूषको संख्या ७२ हजार ८ सय १९ रहेको छ ।
जिल्लाको क्षेत्र नं. १ मा ३८ हजार ३ सय १७ महिला र ३७ हजार ५ सय ८० पुरूष गरि ७५ हजार ८ सय ९७ जनाले मतदान गरेका छन् । त्यस्तै क्षेत्र नं। २ मा ३५ हजार ६ सय ४८ महिला र ३५ हजार २ सय ४९ पुरूष गरि ७० हजार ८ सय ९७ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।